काठमाडौँ । निर्वाचन आयोगका प्रमुख कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मनोनयनको मिति नसर्ने स्पष्ट पारेका छन् ।
निर्वाचन आयोगले ४ महिना अघि प्रकाशित कार्यतालिका अनुसार नै निर्वाचन सम्पन्न हुने र मनोनयन पनि माघ ६ गते नै हुने बताएका हुन् ।
सोमबार सञ्चारकर्मीसँगको कुराकानीमा उनले माघ ६ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयन दाखिल गर्न सक्ने बताए ।
निर्वाचन आयोगले निर्वाचन प्रयोजनार्थ माघ ४ गते राति १२ बजेबाट नै लागू भइसकेको बताउँदै आचारसंहिताले नदिएका कार्यहरू नगर्न सचेत गराए । अब कुनै पनि विषयवस्तुलाई पर सार्ने, संशोधन गर्ने, थप्ने, घटाउने लगायतका कामहरू निर्वाचन आयोगबाट नहुने बताए ।
तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्नु सबैको निष्ठा र दायित्व भएको बताए ।
उनले भने, ‘अब माघको ६ गते जो जो चुनिन चाहनुहुन्छ, उहाँहरूको मनोनयन पत्र दाखिल गर्ने समय हो बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म । त्यो प्रयोजनका लागि निर्वाचन आयोगले माघ ४ गते राति १२ बजेबाट आचारसंहिता लागू गर्ने भनेर आचारसंहितासमेत लागू भइसकेको अवस्था हो । अब सबै कार्यक्रम प्रकाशित भएर चार महिनाअघि प्रकाशित कार्यतालिकाअनुसार कार्य सम्पादन भएको र अब कुनैपनि विषयवस्तुलाई पर सार्ने, संशोधन गर्ने, थप्ने, घटाउने लगायत विषयवस्तु सकिसकेको हुनाले तोकिएकै समयमा चुनिन चाहने दलका स्वतन्त्र उम्मेद्वारहरूले मंगलबार बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मनोनयन पत्र दाखिल गर्नुहुन्छ । तोकिएकै समयमा मनोनयन पत्र दाखिल हुन्छ र निर्वाचन सम्पन्न हुन्छ । आयोगले निर्धारण गरेको समयभित्र मनोनयन पत्र दाखिल हुनुपर्छ । दाखिल भइसकेपछि जाँचबुझ गर्ने प्रक्रिया आफ्नो ठाउँमा रहन्छन् । परिवर्तन हुँदैन । तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्नु सबैको निष्ठा र दायित्व हो ।’
लोकतन्त्रको सुन्दर पक्ष भनेको नै चुन्ने र चुनिने अधिकार भएको बताए। निर्वाचन सुसम्पन्न गर्न सबै सरोकारवालाहरूको भूमिका महत्वपूर्ण रहेको बताए ।