'काठमाडौँ घुम्न जानुहोस्, दर्शन गर्न जानुहोस्' : बालेन [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ५ सोमबार
891
Shares
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह (बालेन) ले अब मधेसका जनताले अधिकार माग्न काठमाडौँ जान नपर्ने बताएका छन्।
सोमबार जनकपुरमा आयोजित कार्यक्रममा बालेनले काठमाडौँ घुम्न र पशुपति-स्वयम्भूको दर्शन गर्न मात्र जान आग्रह गरे। अधिकार भने अब आफ्नै प्रदेशमै पाइने उनको भनाइ थियो।
“काठमाडौँ घुम्न जानुहोस्, दर्शन गर्न जानुहोस्। तर अब अधिकार माग्न जानु पर्दैन। त्यो अधिकार यही प्रदेशमै उपलब्ध हुन्छ,” उनले भने।
बालेनले घण्टी चुनाव चिह्नमा मतदान गर्न आग्रह गरे। सबैले सही निर्णय गरे सही समय र सही सरकार आउने उनको भनाइ थियो।
त्यसैगरी उनले मधेसका उखु किसानको समस्या सम्झिँदै आफू मेयर हुँदा धेरै गर्न नसकेको स्वीकार गरे।
अब केन्द्रीय राजनीतिमा आएकाले किसानका माग पूरा गर्न पहल गर्ने प्रतिबद्धता पनि उनले जनाए।
“माइतीघरमा आएका उखु किसानका लागि म मेयर हुँदा केही गर्न सकिनँ। तर अब म केन्द्रीय राजनीतिमा छु, तपाईंहरूको साथमा छु,” बालेनले भने।
रास्वपा प्रवेश पछिको बालेनको यो पहिलो संवोधन हो । उनले आइतबारमात्रै काठमाडौँ महानगरको मेयर पदबाट राजीनामा दिएर रास्वपा प्रवेश गरेका थिए ।
उनी आजै झापा पुग्ने तयारी छ । उनी झापा ५ बाट प्रतिनिधि सभा निर्वाचन लड्ने तयारीमा छन् ।
उनलाई रास्वपाले भावी प्रधानमन्त्रीका रुपमा अघि सारेको छ ।