काठमाडौँ । एक महिने स्वस्थानी व्रतको परम्परा अनुसार व्रतालुहरू परदेश यात्रामा लागेका छन् । उनीहरू साँखु हुँदै विभिन्न शक्तिपीठमा पुग्ने गर्दछन् ।
उनीहरू पशुपति पनि गएका छन् । उनीहरुले पशुपतिमा पूजासमेत गरेका छन् । बागमती नदीमा स्नान गरेर उनीहरूले नित्य पूजा गरेका छन् ।
पौराणिक सहर साँखुमा शुरू भएको माधवनारायण स्वस्थानीका व्रतालुहरू पशुपतिनाथ आएका हुन्। एक महिने माधवनारायण स्वस्थानीका व्रतालु अनुष्ठानकर्ताहरू एवम् रीतले उपत्यकाका अन्य नदी तलाउमा पनि यसैगरी पूजापाठ तथा स्नान गर्छन् ।
पौष शुक्ल पूर्णिमादेखि शुरू भएको व्रत माघ शुक्ल पूर्णिमासम्म लाग्नेछ। माधवनारायणको व्रत बस्ने व्रतालुले पूर्णिमाको अघिल्लो दिन हात र गोडाको नङ काटी, एकचित्त भई, निराहार बस्ने, पूर्णिमाको बिहानै नदीमा स्नान गरी पूजा गर्ने, शङ्खजल ग्रहण गरी मन्त्रोच्चारण गर्ने प्रचलन छ।
मन्त्रोच्चारण गरेपछि शंखजल ग्रहण गरेपछि कसैलाई छुन नहुने तथा जुत्ता लगाउन नहुने परम्परा छ। माधवनारायणको पूजा नगरेमा स्वस्थानीको व्रत र पूजा अधुरो रहने बताइन्छ।
स्वस्थानी र माधवनारायणको पूजा गरेमा सुख, शान्ति र समृद्धि मिल्ने धार्मिक विश्वास रहिआएको छ।
एक महिने व्रत अवधिमा अनुष्ठानकर्ताहरू पशुपति, फर्पिङ, दक्षिणकाली, बनेपा, पनौती, शंखमूललगायत तीर्थस्थलमा पैदलयात्रामार्फत् दर्शनका लागि जाने गर्छन् ।