arrow

सुदूरपश्चिममा चुनावी 'हेभीवेट' भिडन्त: भीम रावल, लेखराज भट्ट र प्रेम आले मैदानमा

एमाले र नेकपाद्वारा सुदूरपश्चिमका उम्मेदवारको टुङ्गो: पूर्वमन्त्रीहरूको बाहुल्यता

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ४ आइतबार
bhim-rawalss.jpg

काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा मुख्य राजनीतिक दलहरूले उम्मेदवार चयन प्रक्रियालाई अन्तिम रूप दिएका छन्। १६ वटा निर्वाचन क्षेत्र रहेको यस प्रदेशमा नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्ना उम्मेदवारहरूको टुङ्गो लगाएसँगै चुनावी प्रतिस्पर्धा रोचक हुने देखिएको छ।

विशेष गरी सुदूरपश्चिममा दुवै दलले पूर्वमन्त्री र प्रभावशाली नेताहरूलाई मैदानमा उतारेका छन्। नेकपा (एमाले) ले दार्चुलाबाट गणेशसिंह ठगुन्ना, बैतडीबाट दामोदर भण्डारी, कैलाली–४ बाट लेखराज भट्ट, कैलाली–३ बाट गौरीशङ्कर चौधरी र अछाम–१ बाट झपटबहादुर बोहरालाई प्रत्याशी बनाउने निर्णय गरेको छ। त्यस्तै, कञ्चनपुर–२ मा वचनबहादुर सिंह र कञ्चनपुर–३ मा दीपक भट्टको नाम टुङ्गिएको छ।

अर्कातर्फ, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले अछाम–१ मा भीमबहादुर रावल, कैलाली–५ मा प्रेम आले, र कञ्चनपुर–१ मा विना मगरलाई उम्मेदवार बनाएको छ। डोटीबाट पूर्वमुख्यमन्त्री त्रिलोचन भट्ट, बाजुराबाट प्रदेशका पूर्वमन्त्री प्रकाशबहादुर शाह, कञ्चनपुर–२ बाट लालबहादुर खड्का र कञ्चनपुर–३ बाट मानबहादुर सुनार चुनावी मैदानमा उत्रिने भएका छन्।

निर्वाचन कार्यालय धनगढीका अनुसार प्रदेशका ९ जिल्लामा हाल कुल १७ लाख १६ हजार ६६० मतदाता रहेका छन्। निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सुदूरपश्चिममा ७ हजारभन्दा बढी नेपाल प्रहरी र १३ हजारभन्दा बढी निर्वाचन प्रहरी परिचालन गर्ने सुरक्षा योजना बनाइएको छ। माघ ६ गते हुने मनोनयन दर्ताअघि नै दलहरूले आफ्ना प्रभावशाली नेताहरूलाई मैदानमा उतारेपछि सुदूरपश्चिमको चुनावी माहौल तातिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ