काठमाडौँ । शेरबहादुर देउवा नेपाली लोकतन्त्रका एक ‘खलपात्र’ मा गनिएका छन् । उनी तिनै खलपात्र भए जसले नेपाली राजनीतिको अस्तित्वमा रहेको सबैभन्दा पुरानो दल नेपाली कांग्रेसलाई दुई–दुई पटकसम्म फुटाए । उनले विचारको दृष्टिकोणले हैन व्यक्ति केन्द्रित भएर पार्टी फुटाए ।
उनी राजनीतिक यो पापबाट कहिल्यै मुक्त हुन नसक्ने गरी शिखरबाट जमीनमा खसेका छन् । उनीसँग टाँसिएकाहरू गगन र विश्वप्रकाशलाई दोष देखाएर देउवाले ठीक गरेको भनेर नारा लगाउनेमा कुनै शंका छैन । तर पार्टी विधि र विधानले चल्ने हो । त्यही विधानअनुसार गगन–विश्वप्रकाशले पार्टी चलाउन खोज्दा त्यो कित्ता भन्दा बाहिर रहेर विधि र विधान मान्दिन भन्ने कांग्रेस नेता कसरी हुन सक्छ ?
कांग्रेस त नेपाली राजनीतिको हरेक परिवर्तनको नेतृत्वकर्ता हो । साक्षी हो । त्यही कांग्रेसलाई देउवाले पटक–पटक टुक्रा पार्ने काम गरे । ७८ वर्षको ‘सम्मानित पाको उमेर’ का उनी आफूले आफैँलाई कलंकित गरेर राजनीतिबाट संन्यास लिने भए । यो दुःखद हो ।
२००४ सालमा डडेलधुरामा जन्मेका देउवाले गत असोज २८ गते बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा सम्बोधन गर्दैै तत्कालीन उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक दिएर आफू सक्रिय राजनीतिबाट टाढिएको संकेत गरेका थिए । त्यसयता उनी कांग्रेसको कुनै पनि औपचारिक केन्द्रीय कार्यसमिति वा कार्यसम्पादन समितिको बैठकमा सहभागी भएनन् ।
धेरैले प्रशंसा गरे । देउवाले जतिसुकै त्यसअघि राजनीतिक घात गरेको भए पनि उनलाई सबैले मौन माफी दिएका थिए । भलै भदौ २४ गतेको जेन–जी आन्दोलनका क्रममा उनलाई अपमानित गर्दै घरबाट बाहिर निकाल्ने क्रममा उनको घरमा आगलागी गर्दा थुप्रै अवैध रुपैयाँ भेटिएको भए पनि कुनै कांग्रेसीले बैठकमा उनलाई अपमान हुने गरी सम्बोधन गरेनन् ।
उनीमाथि भदौ २४ गते जुन आक्रमण भयो कसैले पनि राम्रो भनेनन् । किनकि उनको नेपाली राजनीतिमा योगदान थियो । पाँच पटकसम्म प्रधानमन्त्री भएका थिए । पाका थिए । संघर्ष गरेरै राजनीतिमा आएका थिए ।
देउवा असोज २८ मा कार्यवाहक दिएसँगै फेरि सक्रिय हुनु हुँदैनथ्यो । उनी सिंगापुर गएर उपचार गरी फर्केपछि फेरि सक्रिय हुन थाले । पूर्णबहादुरलाई नाममात्रका कार्यवाहक बनाए । केन्द्रीय कार्यसमिति बैठकबाट पुसको २६ गतेदेखि नियमित महाधिवेशन गर्ने निर्णय भए पनि कार्यान्वयन गराएनन् । उनी षड्यन्त्र बुन्दै फेरि प्रधानमन्त्री हुने सपना देख्न थाले ।
क्रियाशील सदस्यमै विवाद देखाएर नियमित महाधिवेशन बैशाखमा धकेलियो । जबकि त्यसअघि फागुन २१ को प्रतिनिधि सभा निर्वाचनका लागि नयाँ नेतृत्व र म्यान्डेटसहित अगाडि बढ्नु पर्ने थियो । चुनावमा टिकट आफैँले बाँड्नका लागि नियमित महाधिवेशन बैशाखमा सारियो । अनि विशेष महाधिवेशनलाई औचित्यहीन भनियो ।
त्यतिमात्र होइन पार्टीको विधानअनुसार विशेष महाधिवेशन डाकेका गगन–विश्वप्रकाश–फर्मुल्लाहरूलाई पाँच वर्षका लागि हटाएको भनेर देउवाले सबैभन्दा ठूलो नालायकी देखाए । उनी नेपाली राजनीतिका ‘भिलेन’ बने । जबकि देउवालाई फेरेर पूर्णबहादुर नै विशेष महाधिवेशनबाट सभापति बनेमा सघाउने गगन–विश्वप्रकाशले भनेकै थिए । विधान अनुसार पनि देउवाको कार्यकाल गत मंसिरमै सकिएको थियो ।
०७८ को मंसिरमा चार वर्षका लागि देउवा दोस्रो पटक पार्टी सभापति भएका थिए । विधानले दुई कार्यकालमात्र सभापति बन्न पाउने भनेको छ । विशेष परिस्थितिमा मात्रै छ महिना कार्यकाल थप्न पाइन्छ । न सत्तामा न प्रतिपक्षमा । फेरि नयाँ म्यान्डेटअनुसार चुनावमा नगए मतदाताले कांग्रेसलाई चिन्ने अवस्था पनि नभएका बेलामा देउवाले त्यो थप्ने समयको सुविधा पनि पाएका थिएनन् ।
०५९ सालमा जसरी देउवाले पार्टी फुटाए त्यसरी नै अहिले पनि फुटाए । फरक थियो त समय र स्थान । ०५९ को असार पहिलो साता नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जे भयो देउवाले २३ वर्षपछि ०८२ पुस अन्तिम साता पनि त्यसै गरे ।
त्यतिबेला देउवाले पार्टी फुटाएका थिए । यसपालि विशेष महाधिवेशनको पूर्णरूपले बेवास्ता गरेर घरमै बसी बसी पार्टी टुक्र्याए । देउवाले त्यतिबेला अर्थात् ०५९ जेठमा दरबारको बलमा पार्टीको निर्देशन उल्लंघन गर्दै संसद विघटन गरे । अनि पार्टी निर्देशन विपरीत गएको भन्दै पार्टीले तीन वर्षका लागि निष्काशन गर्यो । पार्टीले माओवादी सशस्त्र द्धन्द्धमा संकटकाल लम्ब्याउने कि नलम्ब्याउने भन्ने विषयमा पार्टीले संकटकाल नथप्ने निर्णय गरेको थियो ।
देउवाले दरबारको बलमा संकटकाल थप्न खोज्दै थिए । उनले त्यसका लागि ०५९ जेठ ९ गतेका लागि संसद् अधिवेशन बोलाइसकेका थिए । कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला भने देशमा हिंसा धेरै भएको र धेरै नेपालीको ज्यान गुमेको भन्दै संकटकाल हटाउने पक्षमा थिए । कांग्रेस केन्द्रीय समितिले ०५९ असोज ८ गते ‘आतंकवाद नियन्त्रण ऐन लागू भइसकेको परिस्थितिमा संकटकाललाई निरन्तरता दिन आवश्यक नभएको’ ठहर गरी संकटकाल लम्ब्याउने प्रस्ताव फिर्ता लिन निर्देशन दिएको थियो ।
कांग्रेस संसदीय दलको बैठक त्यसै दिन साँझ प्रधानमन्त्रीको निवास बालुवाटारमा बस्यो । देउवाले पूरै दम्भ देखाए । संसदीय दलको बैठक सकिएपछि मन्त्री र सांसदहरू त बाटो लागे तर देउवा राति दरबार गएर राति नै प्रतिनिधि सभा विघटन गरी ०६० कात्तिक २७ गतेका लागि चुनावी मिति घोषणा गराए ।
देउवाको यो क्रियाकलापले कांग्रेस छाँगाबाट खसेजस्तै भयो । बाध्य भएर भोलिपल्टै बसेको कांग्रेस बैठकले पार्टीको साधारण सदस्यसमेत नरहने गरी देउवालाई तीन वर्षका लागि निष्काशन गर्यो । पार्टीविहीन प्रधानमन्त्री बनेका देउवाको दम्भ यति भरियो कि दरबारको नाटकीय चक्रमा रुमलिँदा उनले फेरि महाधिवेशन प्रतिनिधिको भेला बोलाएर ०५९ असार ४ गते पार्टी फुटाए ।
उनलाई त्यतिबेला पार्टी फुटाउँदा सघाउने गोपालमान श्रेष्ठ अहिले विधानअनुसार भएको पार्टीको दोस्रो विशेष महाधिवेशनमा सहभागी भएर देउवालाई सघाएर आफूले गलत गरेको भनेर पश्चात्तापमात्र गरेनन् सन्देशसमेत दिए । उनै श्रेष्ठ सभापतिका लागि पार्टीको १४ औँ महाधिवेशनमा सभापतिमा लड्न उम्मेदवार पनि बने ।
त्यसबेला पनि देउवालाई सघाउन पुगे । तर उनले बुझे कि देउवाले पार्टीलाई निजी कम्पनी बनाइरहेका छन् । तब यसपालि विधि र विधानअनुसार भएको विशेष महाधिवेशनमा खुलेर आए । गगन थापाको नेतृत्वमा निर्वाचित कार्यसमितिमा उनी केन्द्रीय सदस्य बने । उनले युवालाई देख्न चाहेका थिए । पार्टीलाई विधिसम्मत् बनाउन चाहेका थिए । सोअनुसार उनी गगनको नेतृत्वमा केन्द्रीय सदस्य बस्न राजी भए ।
७८ वर्षे देउवा भने राजनीतिबाट टाढिने बेलामा कलंक बोकेर रहने भए । उनले यो सम्मानित उमेरमा खलपात्रको भूमिका निर्वाह गरे । उनी आफैँले यो कलंक बोके वा उनलाई उनका सारथी छ भाइले ‘भिलेन’ बन्न बाध्य पारे त्यो खुल्ने नै छ । पार्टी फुटाउन उनीहरूले खेलेको भूमिकाको हिसाबकिताब इतिहासले गर्ने नै छ । प्रतिनिधि सभाको निर्वाचनको मुखमा गरिएको यो घृणित कार्यले हरेक कांग्रेस मतदाता पक्कै पनि मर्माहित भएको हुनुपर्छ ।
अन्त्यमा, नेपाली लोकतन्त्रका लागि योगदान दिएका कुनै पनि नेता बदनाम हुनु अवश्य राम्रो होइन । उनीमाथि भ्रष्टाचारका थुप्रै घटना जोडिए । उनीमाथि भदौ २४ गते उनकै घरमा देखिएको थुप्रै रुपैयाँको अनुसन्धान जारी नै छ । ती आफ्ना ठाउँमा छन् । उनी दोषी भए कारबाहीको भागेदार हुन्छन् नै । कम्तीमा उनले देशको लागि गरेको योगदानको कदर गरौँ । भलै देउवाले आफैँले आफैँलाई भिलेन किन नबनाउन् । असोज २८ गते पाएको सम्मानसमेत जोगाउन नसक्नु निकै नै दुःखद हो । यस्तो कसैलाई नहोस् । राजनीतिमा तिकडम हुन्छ । यत्तिको आफ्नो पार्टीलाई कसैले नगरोस् ।