कारबाही सहेरै भए पनि पार्टी सुधारको बाटोमा लाग्ने विश्वप्रकाशको प्रण
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ३० बुधबार
2.9k
Shares
काठमाडौँ । नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले पार्टीलाई समयसापेक्ष र सुधारिएको ढङ्गले अगाडि बढाउन खोज्दा आफूमाथि कारबाही गरिएको बताएका छन्। बुधबार भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै उनले आफूले पार्टी सुधारका लागि जस्तोसुकै कारबाही भोग्न तयार रहेको तर आफ्नो अभियान नरोकिने प्रण गरे।
उनले बिहानै महामन्त्री पद त्यागिसकेको उल्लेख गर्दै संस्थापन पक्षले गरेको कारबाहीको कुनै औचित्य नरहेको प्रष्ट पारे। "मैले त बिहानै महामन्त्री पद छोडिसकें, छाडिसकेको पदमा के को कारबाही?" उनले प्रश्न गरे। शर्माले महामन्त्री पदका लागि आफ्नो तर्फबाट युवा नेताहरू प्रदीप पौडेल र गुरुराज घिमिरेले मनोनयन दर्ता गराइसकेको जानकारी समेत दिए।
शर्माका अनुसार पार्टीलाई हालको सुस्त अवस्थाबाट माथि उठाएर 'जेन–जी' पुस्ताको भावना समेट्न यो विशेष महाधिवेशन कोशेढुङ्गा साबित हुनेछ। उनले अब देशभरका कार्यकर्ताको भावनाअनुसार यही बन्दसत्रबाट नयाँ कार्यसमिति बनाएर वैधानिकताका लागि निर्वाचन आयोग जाने उद्घोष गरे।