arrow

जेल जीवन पछिका हेडसर : समाजमा घुलमेल हुन फिक्री

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ३० बुधबार
head-teacher.jpg

काठमाडौँ। सुन्धारास्थित जगनाथ देवल कारागारमा १० वर्ष कैद सजाय तोकिएका तीन जना कैदीबन्दी ‘हेडमास्टर’को परिचय बनाएर फर्कँदै छन् । त्यहाँस्थित महिला बन्दी विकास आधारभूत विद्यालय, भद्रबन्दी विकास आधारभूत विद्यालय र केन्द्रीय कारागारमा सञ्चालित जगनाथ माध्यमिक विद्यालयको प्रधानाध्यापक केही समयपछि कैदमुक्त हुँदै छन् ।

कारागारभित्र असल चालचलन गरेबापत तोकिएको कैदी सजायमा केही माफी मिनाहा (छुट) समेत पाएर उनीहरू जेलबाट निस्कन लागेका हुन् ।

आन्तरिक जेल प्रशासनको जिम्मेवारी बाँडफाँटअनुसार कैदीबन्दीको पठनपाठनका सन्दर्भमा विद्यालयको नेतृत्व गर्दै आएको उनीहरुको वार्षिक रुपमा ७२ दिन तोकिएको सजायमा माफी मिनाहा हुने गरेको छ ।

अपराध गरेबापत सजाय भुक्तानीका लागि जेल पर्नु पूर्वजस्तै अहिले बाहिर निस्कने बेला पनि उनीहरुलाई फेरि निद्रा लाग्न छाडेको छ । उनीहरूमा समाजमा पुगेपछि प्रारम्भिक दिनमा कसरी घुलमेल हुने फिक्री एकातिर छ भने अर्कातर्फ दश वर्षसम्मसँगै खाईखेली बसेका साथीभाइ तथा शिक्षक र विद्यार्थीको दैनिकीबाट अलग हुनु परेकामा चिन्ता छ ।

कतिपय परिबन्धमा परेकोबाहेक समाजमा नराम्रो कर्म गर्नेलाई थुनामा राख्न कारागार पठाइने भएकाले ‘जेल’ भनेपछि सबैको सातो जान्छ ।

“त्यो दिन अबेर नै भइसकेको थियो, जेलभित्र छिर्दै गर्दा पछुतो र अन्धकार जस्तै लाग्यो । पछि त्यहाँका नियमपालनमा अभ्यस्त भइयो। बाहिर कल्पना गरेको जस्तोभित्र कहालीलाग्दो स्थिति छैन”, कारागार प्रवेश गरेको क्षणको स्मरण गर्दै महिला विकास आधारभूत विद्यालयकी प्रधानाध्यापक भन्छन्, “यहाँभित्र आन्तरिक प्रशासन छ, योग्यता र क्षमताअनुसारको नाइके, भाइनाइके, चौकीदार हुँदै सरकारी तलबभत्ता खाने ‘हेडमास्टर’को जिम्मेवारी पाएँ, जुन मैले कल्पनासमेत गरेका थिइनँ ।”

केन्द्रीय कारागारका प्रशासक कृष्णप्रसाद चापागाई नेपाल सरकारकै पाठ्यक्रमअनुसार अध्ययन अध्यापन हुने तीन ओटै विद्यालयको पढाइ भने अब्बल रहेको बताउँछन् ।

एकातिर मुद्दा मामिला तथा पारिवारिक बिछोडको तनाव, अर्कातर्फ निरन्तर अड्डा अदालत धाउन पर्ने झन्झटका बीचमा पनि यहाँका विद्यार्थी अथक मेहनतकै कारण विद्यालयले अब्बल नतिजा प्राप्त गर्न सफल भएको छ ।

जेनजी आन्दोलनका क्रममा केही कैदीबन्दी फरार भएकाले विगतका तुलनामा पछिल्लो समय विद्यार्थी सङ्ख्या भने घटेको छ । साँघुरो ठाउँमा कोचाकोच गरेर बस्नु परे पनि ‘जहाँ इच्छा, त्यहाँ उपाय’ भनेझैँ शिक्षक र विद्यार्थी सधैँसँगै बस्ने भएकाले पनि जान्न र सिक्ने चाहने विद्यार्थीका लागि भने जेलभित्र जुनसुकै बेला अनुकूल वातावरण छ ।

कारागारभित्रका विद्यालयबाट गएको माध्यमिक शिक्षा परीक्षा (एसइई) २१ जना विद्यार्थी सामेल भएकामा छ जनाले एप्लस नतिजा प्राप्त गरेका थिए भने उच्च माध्यमिक तहमा पनि सोही अनुपातको परिणाम प्राप्त भयो । मुद्दाका सिलसिलामा कतिपयले दिउँसो अदालतमा उपस्थिति हुनुपर्ने तथा केही बिरामीका कारण अस्पताल जानुपर्ने भएकाले जेलभित्रका सबै विद्यालयमा बिहानी सत्रमा पढाइ हुँदै आएको छ ।

उमेर समूहका हिसाबले पनि यहाँका विद्यार्थीको उमेर अभिलेखकै रुपमा राख्न योग्य देखिन्छ । अरु विद्यालयमा विद्यार्थीले आफू बालिग नहुँदै विद्यालय छोडी सक्छन् भने जेलमा १८ वर्ष उमेर नाघेकालाई मात्र राखिने भएकाले बालिग भएपछि मात्रै स्कूल भर्नामा मौका पाइन्छ । भद्रबन्दी गृहमा हाल ८१ वर्षसम्मका विद्यार्थी अध्ययनरत छन् ।

भद्रबन्दी सुधार गृह, केन्द्रीय बन्दी सुधारगृह र महिलाबन्दी सुधार गृहमा गरी करिब सात सयको सङ्ख्यामा विद्यार्थी रहेको भनिए तापनि जेनजी आन्दोलनपछि त्यो सङ्ख्या घटेर तीन सय ८० को हाराहारीमा झरेको छ । त्यहाँका शिक्षकको तलब भत्ता काठमाडौँ महानगरपालिकाबाट उपलब्ध हुँदै आएको छ ।

कारागारभित्रका विद्यालयमा शिक्षक र निर्धारित पाठ्यसामग्रीको उपलब्धता भए पनि पूर्वाधार र नवीनतम् प्रविधिको प्रयोगसम्बन्धी विषयमा भने सुधारको खाँचो देखिएको छ । कक्षा पाँचसम्मको पढाइ हुँदै आएको विसं २०५३ स्थापित महिला बन्दी विकास आधारभूत विद्यालयका प्रधानाध्यापक लिम्बू विद्यालयमा अध्ययनरत ७९ विद्यार्थीमध्ये १८ वर्षदेखि ७२ वर्षसम्म उमेर समूहका छन् । तोकिएको कैद भुक्तानी भएपछि बाहिरिने भएकाले विद्यार्थीको सङ्ख्या भने घटबढ भइरहन्छ ।

जेनजी आन्दोलन अघि त्यस विद्यालयमा एक सय ५३ जना विद्यार्थी थिए। आन्दोलनका क्रममा भागेका कैदी फर्कनेक्रम जारी रहेसँगै विद्यार्थीको सङ्ख्या पनि बढ्दै गएको छ ।

प्रधानाध्यापक लिम्बू भन्छन्, “बच्चालाई पढाउन सजिलो हुन्छ, उमेर छिप्पिएको बच्चालाई पढाउन निकै कठिन छ । मुद्दा मामिला र घर परिवारको तनावमा रहेकालाई त झन कठिन छ । पढाइ एकातर्फ छ, उहाँहरूको ध्यान अर्कातर्फ हुन्छ । आफ्ना घरपरिवारको कथा र कहानी सुनाउनुपर्छ, कतिपय रुन्छन् अनि आफैँ फकिन्छन् ।”

शिक्षकका लागि दैनिक रुटिन, परीक्षा सञ्चालन, प्रश्नपत्र निर्माण तथा खर्चको विवरण चुस्त राख्नुपर्नेलगायत कार्य झन्झटिलो लाग्ने गरेको उनले अनुभव सुनाए ।

एउटा अपराध कर्ममा १० वर्षअघि जेल प्रवेश गरेको भए तापनि आफूलाई सुधार गर्दै उनी प्रधानाध्यापक भएर केही महिनाभित्रै थुनामुक्त हुँदै छन् । छिट्टै कारागार मुक्त हुनेमा जेलभित्र सञ्चालित छिमेकी दुवै विद्यालयका प्रधानाध्यापक पनि रहेको बताइएको छ ।

सरकारले उनलाई आधारभूत विद्यालयको तलब उपलब्ध गराएको छ । जेलभित्रकै कमाइले आफूलाई लागेको बिगो अनुसारको जरिवाना तिर्न सक्षम भएका छन् । अबको केही दिनमा ‘हेड मिस’का रुपमा जेलबाट बाहिरिँदै छन् ।

कारागारभित्रका शिक्षक शिक्षिकालाई नसोचेको फल प्राप्त भएकाले जेलभित्रको कमाई अमूल्य लागेको छ । त्यसो त जेलभित्र पुगेका कयौँ निरक्षरलाई उनीहरूले साक्षर तुल्याउँदा राज्यको साक्षरता अभियानमा सहयोग भएको छ भने कतिपय प्रतिस्पर्धामा अब्बल प्रमाणित गरिरहेका छन्।

जेलभित्र रहेर पनि बाहिरका विद्यालय सरहकै तलब सुविधा प्राप्त हुन र पाका विद्यार्थीबाट हेडमास्टरको सम्मान प्राप्त गर्नु त्यहाँका प्रधानाध्यापकलाई बेग्लै अनुभूति र संयोग मिलेको छ । नाम पनि लेख्न नजान्ने कतिपय कैदीबन्दी अहिले कक्षा १२ को परीक्षामा सामेल छन् । महिला विकास बन्दीबाट ७२ वर्षीया महिला विद्यार्थीका रुपमा यस पटकको कक्षा १२ को परीक्षाको तयारीमा छन् । त्यस विद्यालयमा हाल प्राप्त दुई स्वीकृत दरबन्दीको पैसा बाँडफाँट गरी आठ जना शिक्षिकाको व्यवस्था गरिएको छ ।

कक्षा ८ सम्म पढाइ हुने भद्रबन्दी गृहमा सञ्चालित बन्दी विकास आधारभूत विद्यालयका पूर्वप्रधानाध्यापक रविन चालिसेका अनुसार विद्यालयमा १८ देखि ८१ वर्ष उमेर समूहसम्मका ८४ जना विद्यार्थी छन् ।

पढाइलेखाइ गर्न उमेरले छेक्दैन भन्ने घटनालाई उक्त उमेर समूहले पुष्टि गरेको छ । कैदीलाई जेलभित्र औपचारिक शिक्षा दिन सरकारले २०१४ सालमा भद्रबन्दी विद्यालय स्थापना गरेको थियो । त्यस विद्यालयबाट एक दशकमा मात्रै सयभन्दा बढीले आधारभूत तह उत्तीर्ण गरेका छन् ।

जेनजी आन्दोलनअघि त्यस विद्यालयमा १७४ विद्यार्थी थिए । अरु फर्केनन् । सबै विद्यार्थीलाई निःशुल्क रुपमा पाठ्यसामग्री उलब्ध छ । पाठ्यक्रम निःशुल्क हुन्छ ।

निमावि तहको एक स्वीकृत दरबन्दीसहित हाल त्यस विद्यालयका १० जना शिक्षक र एक जना सहयोगी छन् । विद्यालयको नतिजा राम्रो छ । सबै विधामा पोख्त मानिस कारागारमा रहेकाले विषयगत शिक्षकको अभाव छैन ।

विद्यालयमा सिकाइका नयाँ प्रविधिको पहुँच नभएकाले नयाँ पुस्ता र समयको मागअनुरुपको शिक्षा दिलाउन विद्यालयले सकेको छैन । केही दिनअघि मात्रै जेलमुक्त भएका पूर्वप्रअ चालिसे भन्छन्, “कारागारभित्र प्रविधिको पहुँच नभएकाले विद्यार्थीको पढाइलाई प्रविधिमा रुपान्तरण र अभ्यस्त गर्न सकिएको छैन । कैदीलाई विभिन्न शीर्षकमा आएको पैसाबाट कलम र कापी किनेर दिन्छौँ ।”

उनका अनुसार कारागारको पढाइ प्राविधिमैत्री तुल्याउँदै जेलबाट निस्किएपछि समाजमा पुनर्मिलन गराउन सक्ने खाले हुनुपर्छ । त्यसका लागि कैदी बन्दीलाई केही न केही तालिम दिलाउनुपर्छ ।

कक्षा १२ सम्मको अध्ययन हुने केन्द्रीय कारगारस्थित जगनाथ माध्यमिक विद्यालयका प्रधानाध्यापक उद्धव बस्नेतका अनुसार गत भदौ २४ अघिसम्म तीन सय ९६ विद्यार्थी रहेकामा त्यो सङ्ख्या घटेर हाल दुई सय १६ भएको छ ।

भागेकाहरू कारागारमा आउने क्रम भने जारी छ । व्यवस्थापन विषयमा कक्षा १२ सम्मको पढाइ हुने उक्त विद्यालयमा हाल ६५ वर्ष उमेर समूहका पनि विद्यार्थी अध्ययनरत छन् ।

प्रअ बस्नेत भन्छन्, “मुद्दाको बोझ र पारिवारिक तनावको बीचमा २१ जना सहभागी गएको एसइईमा छ जनाले ए-प्लस ल्याए, अरुको पनि ए र बी-प्लस आएको छ, नतिजा राम्रै छ ।”

कारागारभित्र विषयविज्ञ डाक्टर, इन्जिनियर, पाइलटजस्ता सबै विधाका जनशक्तिको उपलब्धता रहेकाले विषय शिक्षकको अभाव नरहेको बताइएको छ ।

२०१९ सालमा स्थापित यस विद्यालय २०५३ सालमा एसएलसीमा सामेल भएको थियो। कारागारका विद्यालयका प्रधानाध्यापक बस्नेतलाई अरु सामुदायिक माध्यमिक विद्यालयका तृतीय श्रेणीका शिक्षकले पाउने तलब सुविधा उपलब्ध छ ।

त्यस विद्यालयमा नौ जनाको स्वीकृत दरबन्दी र तीन जना निजी स्रोत, एक जना करारमा कार्यरत छन् । विद्यालय शिक्षकलाई मासिक छ दिन बराबर कैदमाफी छुट हुन्छ ।

जेल बसाइमा पाएको जिम्मेवारी र अवसरबाट उनको जीवन मात्र होइन, घर परिवारको खर्चबर्च र आर्थिक पक्ष समेत सहजरुपमा अघि बढिरहेको छ ।

उनी भन्छन्, “जेलभित्र क्रुर र अराजकता हुन्छ भन्ने लाग्थ्यो, तर त्यो होइन रहेछ, शिक्षादीक्षाको अवसर प्राप्त भइरहेको छ, यहाँ वास्तविक लोकतन्त्र छ, गौरव लाग्छ केन्द्रीय कारागार त वास्तवमै लोकतान्त्रिक छ ।”

भौतिक संरचना निर्माणका हिसाबले जेल साँघुरो रहेको र राज्यद्वारा उपलब्ध हुने सेवा सुविधा कमजोर रहेकाले सुधारको खाँचो औँल्याइएको छ। प्रधानाध्यापकका अनुसार अबको युगमा डिजिटल शिक्षाको अनिवार्य आवश्यकता भएको र कारगारभित्र त्यसको पहुँच नभएका अवस्थामा सुधार जरुरी रहेको छ ।

कारागारभित्रको शिक्षा हासिल गरेका विद्यार्थी फेरि अपराधमा फर्किएको घटना नगन्य रहेको तथ्याङ्कले देखाएको छ। पछिल्लो समयमा विभिन्न कारणले लागुऔषध, कर्तव्य ज्यान र जबर्जस्ती करणीको अभियोगमा कारागारमा पढे-लेखेकै युवाको सङ्ख्या ठूलो रहेकाले कलेज तहसम्मको पढाइको माग भइरहेको कारागार प्रशासनले जनाएको छ ।

देशका विभिन्न कारागारमा रहेका कैदीबन्दीमध्ये केहीले औपचारिक शिक्षा तथा केहीले केक बनाउने, ब्युटिपार्लर, पोते उन्ने, टोपी, गलैँचा, झोला र मुढा तथा फर्निचर बनाएर पनि आर्यआर्जनको मेसो गर्दै आएका छन् ।

केन्द्रीय कारागारका प्रवक्ता वैकुुण्ठराज रेग्मीका अनुसार पुरानो कारागार भएकाले भौतिक संरचना कमजोर, सीधा अनुदान समयसापेक्ष नभएको, क्षमताभन्दा बढी कैदीबन्दी रहेको, सबै किसिमका कैदीबन्दी एकै ठाउँमा रहेकाले कारागारको पुनःसंरचनाको आवश्यकता देखिएको छ ।

मुलुकका सबै जेलबाट उपचारका लागि बिरामी ल्याइने भएकाले केन्द्रीय कारागारले हेर्न पर्ने बिरामीको सङ्ख्या करिब नौ सयको हाराहारीमा रहेको बताइएको छ । पछिल्लो समय राज्यले कारागारलाई यातनागृह नभई सुधारस्थलका रुपमा विकास गर्ने नीति अघि सारेको छ ।

सो क्रममा कैदीलाई शैक्षिक हिसाबले सशक्तीकरण गर्ने र सचेत तुल्याई जेलबाट बाहिर आएपछि घुलमेल भई बस्ने वातावरण मिलाउने कोसिस गरिरहेको छ । मुलुकका विभिन्न स्थानमा सञ्चालनमा रहेको बालसुधार गृहका बालबालिकालाई पनि सरकारले पढाइलेखाइको सुविधा प्रदान गरेको छ ।

कारागार कार्यालय जगन्नाथदेवलअन्तर्गतका केन्द्र बन्दीगृहमा एक हजार पाँच सय २६, भद्र बन्दीगृहमा एक हजार ६२ र महिला बन्दीगृहमा दुई सय ९० कैदीबन्दी छन् ।

मुलुकका ७२ जिल्लामा रहेका ७५ कारागारमा हाल करिब २७ हजारको सङ्ख्यामा कैदीबन्दी छन्। त्यसमध्ये फरारबाहेकको सङ्ख्या २५ हजार नौ सय १६ रहेको छ ।

यस्तै बालसुधार गृहमा १८ वर्षमाथिका पाँच सय ८१ र १८ वर्ष कम उमेर समूहका पाँच सय ७३ गरी एक हजार एक सय ५४ बालबन्दी रहेको कारागार व्यवस्था विभागले जनाएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ