फागुन २१ मा चुनाव हुन्छ, सिंगो पार्टी तयारीमा जुटौँः माधव नेपाल [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २९ मंगलबार
886
Shares
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले तोकिएको मितिमा नै निर्वाचन हुने बताएका छन् ।
मंगलबार काठमाडौँमा पार्टी केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरूको शपथग्रहण समारोहमा बोल्दै उनले फागुन २१ मा निर्वाचन हुने उल्लेख गर्दै त्यसको तयारीमा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।
सहसंयोजक नेपालले निर्वाचन समयमा हुँदैन कि भनेर चुप लागेर नबस्न पनि पार्टी, नेता कार्यकर्तालाई सचेत गराए।
उनले निर्वाचनका लागि पार्टीले घोषणा पत्र निर्माणको काम शुरू गरेको र निर्वाचन परिचालनका लागि पार्टीका संयोजक पुष्पकमल दाहालको नेतृत्व छिट्टै परिचालन कमिटी घोषणा हुने पनि बताए ।
उनले निर्वाचन पार्टीका लागि अग्नी परीक्षा भएकाले त्यसलाई पार लगाउनका लागि सिंगो पार्टी पंक्ति एकताबद्ध भएर परिचालन हुन जरुरी रहेको समेत बताए ।
सहसंयोजक नेपालले भने, ‘चुनावमा हाम्रो अग्नी परीक्षा हुनेछ । यस बीचमा चुनाव हुन्छ भन्ने नै हामीलाई लागेको छ । त्यसकारण चुनाव हुँदैन कि भन्ने कुरा ठानेर चुप लागेर, पर्खेर बस्ने होइन । चुनावको तयारीमा पूरै जुट्ने हो । र, यसका लागि हामीले निर्वाचनको बारेमा चुनाव घोषणा पत्र बनाउन पनि कमिटी बनाइसकेका छौँ । त्यसको मस्यौदाको काम पनि अगाडि बढन थालिसकेको छ । त्यसैगरी निर्वाचन परिचालन गर्ने कमिटी पनि हामी बनाउन गइरहेका छौँ । हाम्रो संयोजक कमरेड पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा त्यो हामी बनाउनेछौँ। त्यसपछि निर्वाचनसँग जोडिएका अरु कामहरू हुनेछन् । निर्वाचनका लागि सहयोग जुटाउन महत्वपूर्ण भूमिका खेल्नेलाई प्रोत्साहन दिइनेछ । चुनावमा हाम्रो मतको कसरी रक्षा गर्ने, चुनावमा देखा परेका विकृतिहरूको कसरी सामना गर्ने, पैसाको लेनदेनलाई रोक्ने कसरी ? यी सबै कुराको सामना गर्न पनि हामी बीचमा एकताको आवश्यकता पर्दछ ।
सहसंयोजक नेपालले निर्वाचनमा पैसाको लेनदेनलगायतका विकृतिको सामना गर्न पनि सचेत भएर अघि बढ्नुपर्ने अवस्था रहेको बताए ।