काठमाडौँ । नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनको बन्दसत्रमा कास्की जिल्ला सभापति किशोरदत्त बरालले पार्टीको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउन 'डिजिटल मापदण्ड' लागू गर्नुपर्ने नयाँ प्रस्ताव अघि सारेका छन्।
मङ्गलवार महामन्त्रीद्वयको प्रतिवेदनमाथि आफ्नो धारणा राख्दै सभापति बरालले विशेष महाधिवेशनले ल्याएका नयाँ प्रस्तावहरू पार्टी रूपान्तरणका लागि कोसेढुङ्गा हुने विश्वास व्यक्त गरे। उनले मूल्य, चेतना र उत्पादनलाई कांग्रेसको भावी कार्यदिशा बनाउनुपर्नेमा जोड दिँदै चेतना नै रूपान्तरणको पहिलो आधार भएको दाबी गरे। विगतको राजनीतिलाई पुनः परिभाषित गर्दै अबको कांग्रेस आधुनिक, समावेशी र पूर्ण लोकतान्त्रिक हुनुपर्ने उनको भनाइ थियो।
सभापति बरालले लोकतन्त्रलाई सत्ता प्राप्तिको खेल मात्र नबनाई आफ्नै मौलिक सिद्धान्त र मूल्यमा उभिएर अगाडि बढाउनुपर्नेमा जोड दिए। उनले पार्टीभित्रको आन्तरिक लोकतन्त्र कमजोर भएमा देशलाई लोकतन्त्र दिन नसकिने भन्दै कार्यकर्ता र नेतृत्वको मूल्याङ्कन र छनोट डिजिटल मापदण्डका आधारमा हुनुपर्ने प्रस्ताव गरे।
यस्तो प्रणालीले पार्टीमा पारदर्शिता ल्याउने र नागरिकलाई सूचना, सहभागिता र निगरानीको अधिकार सुनिश्चित गर्ने उनले बताए। नेतृत्व र नेताहरूले अब केवल भाषण र नारामा मात्र सीमित नभई जनताको जीवनस्तर बदल्ने उत्पादनमुखी र रूपान्तरणकारी कार्यमा लाग्नुपर्ने समय आएको उनले स्पष्ट पारे।