arrow

अर्काको वैशाखी छोडेर आफ्नै खुट्टामा उभियौँ : गण्डकी प्रदेश सभापति शर्मा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २९ मंगलबार
sukraraj-sharmas.jpg

काठमाडौँ । नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनको बन्दसत्रमा गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले पार्टीको आधिकारिक नीतिभन्दा निकै भिन्न र 'विद्रोही' प्रस्ताव अघि सारेका छन्। मङ्गलवार गण्डकी प्रदेशको तर्फबाट आफ्ना धारणा राख्दै सभापति शर्माले मुलुकको वर्तमान सङ्कट समाधानका लागि संवैधानिक राजतन्त्र र हिन्दू राष्ट्रको पुनःबहालीबारे देशमा क्रियाशील सबै शक्तिहरूसँग विचार विमर्श गर्नुपर्ने प्रस्ताव गरेका हुन्।

राष्ट्रियता, प्रजातन्त्र, समाजवाद र सनातन धार्मिक स्वतन्त्रताका पक्षमा कांग्रेस दह्रोसँग उभिनुपर्ने बताउँदै उनले हिन्दू धर्मको पुनःस्थापनाको मागलाई प्रमुखताका साथ उठाए। यदि गणतन्त्र नै राख्ने हो भने पनि प्रतिक्रियावादी शक्तिहरूले पुनः टाउको उठाउन नसक्ने गरी कडा व्यवस्था गर्नुपर्ने उनको तर्क थियो।

सभापति शर्माले कांग्रेसले पछिल्लो समय सधैँ अर्काको वैशाखी टेकेर हिँडेका कारण आफ्नो प्रभाव र बिरासत गुमाउँदै गएकोमा चिन्ता व्यक्त गर्दै अब आफ्नै खुट्टामा उभिने आँट गर्नुपर्ने उल्लेख गरे। ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्दा पनि संस्थापन पक्षले त्यसलाई स्वीकार नगरेकोमा आपत्ति जनाउँदै उनले अब देश र जनताको सेवामा समर्पित परिमार्जित नेतृत्व महाधिवेशनबाट चयन गरिनुपर्नेमा जोड दिए।

हालैको 'जेन-जी' आन्दोलनका क्रममा भएका अप्रिय घटनाप्रति क्षमा माग्दै उनले कांग्रेसले आफूलाई सुधार्न सके मात्र अजेय शक्तिका रूपमा पुनरागमन गर्न सक्ने दाबी गरे। साथै, नेपालको मौलिकता र योगदानमा आधारित कांग्रेस बनाउन विद्यालय तहदेखि नै नेपालबारे बुझाउने नयाँ पाठ्यपुस्तक तयार पार्नुपर्ने सुझाव समेत उनले दिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ