कांग्रेस विशेष महाधिवेशनमा निर्वाचनको माहोल: सीताराम केसीको नेतृत्वमा निर्वाचन समिति गठन
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २९ मंगलबार
1.8k
Shares
काठमाडौँ । नेपाली कांग्रेसको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनले नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अगाडि बढाउन पाँच सदस्यीय निर्वाचन समिति गठन गरेको छ। बन्दसत्रको दोस्रो दिन हिजो सोमबार अबेर राति डेमोक्रेटिक लयर्स एसोसियसनका अध्यक्ष एवं वरिष्ठ अधिवक्ता सीताराम केसीको संयोजकत्वमा यो समिति गठन गरिएको हो।
महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेका साङ्गठनिक र राजनीतिक प्रतिवेदनमाथि नौवटा समूहमा छलफल भइरहँदा बन्दसत्रले निर्वाचन समितिको प्रस्ताव पारित गरेको थियो। यो समितिले नियमित महाधिवेशन सम्पन्न नहुन्जेलसम्मका लागि केन्द्रीय कार्यसमितिको निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी पाएको छ।
निर्वाचन समितिमा संयोजक केसीका साथै वरिष्ठ अधिवक्ता अशोक पोखरेल, अधिवक्ता गोकर्ण बन्जाडे, आरसी विमल पौडेल र रामचन्द्र गौतम सदस्य रहेका छन्। केन्द्रीय सदस्य प्रतिमा गौतमका अनुसार विशेष महाधिवेशन सञ्चालन कार्यविधिमा गरिएको व्यवस्था बमोजिम यो समितिले निर्वाचन सम्बन्धी कार्यविधि र निर्देशिका आफैँ तय गरी निर्वाचन गराउनेछ।
विशेष महाधिवेशन पक्षले ६३ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित यो प्रक्रिया अगाडि बढाएकाले यसलाई वैधानिक दाबी गरिएको छ। अर्कोतर्फ, पार्टीको संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच सहमतिका लागि वार्ताहरू जारी रहे पनि भृकुटीमण्डपमा निर्वाचनको तयारीलाई तीव्रता दिइएको छ। आज प्रतिवेदनहरू पारित भएलगत्तै निर्वाचन समितिले मतदानको कार्यतालिका सार्वजनिक गर्ने सम्भावना रहेको छ।