arrow

ग्रीनल्याण्डका लागि 'युद्ध' गर्न पनि तयार ट्रम्प: नेटोभित्रै सङ्कटको संकेत

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २९ मंगलबार
trump-20.jpg

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेनमार्कको अधिनमा रहेको स्वायत्त क्षेत्र ग्रीनल्याण्डलाई 'जसरी पनि' संयुक्त राज्य अमेरिकाको नियन्त्रणमा लिने आफ्नो अडान पुनः दोहोर्‍याएका छन्। आइतबार 'एयर फोर्स वान' मा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ट्रम्पले आफू सो टापुलाई भाडामा लिन वा कुनै छोटो अवधिको व्यवस्थामा इच्छुक नभई पूर्ण रूपमा प्राप्त गर्न चाहेको स्पष्ट पारे।

ट्रम्पले ग्रीनल्याण्ड प्राप्तिको विषयलाई अमेरिकी राष्ट्रिय सुरक्षासँग जोडेका छन्। उनका अनुसार आर्कटिक क्षेत्रमा रुस र चीनको बढ्दो सैन्य गतिविधि र उनीहरूका पनडुब्बीहरूको उपस्थितिका कारण अमेरिकाले यो कदम चाल्नु अनिवार्य छ। "यदि हामीले यसलाई लिएनौँ भने, रुस वा चीनले लिनेछन्, र म त्यसो हुन दिन्नँ," ट्रम्पले भने। उनले ठट्टामिश्रित शैलीमा डेनमार्कको रक्षा क्षमतामाथि व्यङ्ग्य गर्दै त्यहाँको सुरक्षा 'केबल दुईवटा कुकुर स्लेज' मात्र भएको टिप्पणी समेत गरे।

यो कदमले उत्तर एटलान्टिक सन्धि सङ्गठन र युरोपेली सहयोगीहरूसँगको सम्बन्धमा दरार ल्याउन सक्छ कि भन्ने प्रश्नमा ट्रम्पले आक्रामक जवाफ दिए। उनले भने, "यदि यसले नेटोलाई असर गर्छ भने गरोस्, उनीहरूलाई हाम्रो आवश्यकता हामीलाई उनीहरूको भन्दा धेरै छ।"

डेनमार्ककी प्रधानमन्त्री मेट्टे फ्रेडरिक्सनले ट्रम्पको यस अभिव्यक्तिलाई 'अत्यन्तै हास्यास्पद' र 'धम्कीपूर्ण' भन्दै कडा आपत्ति जनाएकी छिन्। उनले ग्रीनल्याण्ड बिक्रीका लागि नभएको र यस्तो खाले दाबीले आठ दशकदेखिको ट्रान्सएटलान्टिक सुरक्षा सम्बन्धलाई क्षति पुर्‍याउने चेतावनी दिएकी छिन्। ग्रीनल्याण्डका प्रधानमन्त्री जेन्स–फ्रेडरिक नील्सनले पनि आफ्नो भविष्यको निर्णय गर्ने अधिकार ग्रीनल्याण्डका जनतासँग मात्र सुरक्षित रहेको स्पष्ट पारेका छन्।

भर्खरै भेनेजुयलामा भएको अमेरिकी सैन्य हस्तक्षेप (जसमा राष्ट्रपति मदुरो सत्ताच्युत भएका थिए) पछि ट्रम्पले ग्रीनल्याण्डको बारेमा दिएको यो कडा अभिव्यक्तिलाई विश्व राजनीतिमा निकै चासोका साथ हेरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ