सुदूरपश्चिममा निर्वाचन प्रहरीका लागि उत्साह: तीन दिनमै साढे चार हजार बढीले दिए आवेदन
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २८ सोमबार
900
Shares
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको सुरक्षाका लागि सुदूरपश्चिम प्रदेशमा निर्वाचन प्रहरी (म्यादी प्रहरी) बन्न चाहनेहरूको उल्लेख्य उत्साह देखिएको छ। आवेदन खुल्ला गरिएको पछिल्लो तीन दिनमै प्रदेशका विभिन्न जिल्लाबाट चार हजार ५०० जनाले निवेदन दर्ता गराएका छन्।
प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार सबैभन्दा बढी आवेदन सुगम जिल्लाहरू कैलाली र कञ्चनपुरमा परेका छन्। हालसम्मको तथ्याङ्क अनुसार कैलालीमा दुई हजार ९४ जना र कञ्चनपुरमा ८३४ जनाले आवेदन दिएका छन् भने सबैभन्दा कम डोटी जिल्लामा १९० जनाको आवेदन परेको छ।
आगामी माघ १ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएकोमा हाल सुदूरपश्चिमका सबै जिल्ला प्रहरी कार्यालयका साथै सशस्त्र प्रहरी बलका गण तथा गुल्महरूमा निवेदन दर्ता गर्ने कार्य जारी रहेको छ। यस पटकको भर्ना प्रक्रियामा भूतपूर्व सुरक्षाकर्मी, शिक्षित युवा र महिलाहरूको सहभागिता निकै बढिरहेको प्रहरी उपरीक्षक मिश्रले जानकारी दिनुभयो। निर्वाचनलाई भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्नका लागि प्रदेश प्रहरी कार्यालयले सुरक्षा योजना तयारीलाई तीव्र पारेको छ भने प्रदेशस्तरीय कमाण्ड पोष्ट स्थापनाको गृहकार्य समेत सुरु गरिएको छ।
प्रदेश निर्वाचन कार्यालय धनगढीका अनुसार सुदूरपश्चिमका नौ वटै जिल्लामा नयाँ थपिएका मतदातासहित कुल १७ लाख १६ हजार ६६० मतदाता रहेका छन्। प्रतिनिधिसभाका १६ वटा निर्वाचन क्षेत्र रहेको यस प्रदेशमा निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउन सुरक्षा निकायहरूले विशेष सतर्कता र तयारी अपनाइरहेका छन्।