arrow

कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र जारी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २८ सोमबार
bandasatra-congress.jpg

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा काठमाडौँको भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशनको बन्दसत्र जारी छ।

आइतबार भव्य उद्घाटन सत्र सम्पन्न भएपछि महाधिवेशनको दोस्रो दिन आज बिहान १० बजेदेखि बन्दसत्रको कार्यक्रम अघि बढाइएको हो। बन्दसत्रको प्रारम्भमै ‘विशेष महाधिवेशन कार्यविधि, २०८२’ पारित गरिएको छ, जसले पार्टीको नीतिगत सुधार, विधान संशोधन र नेतृत्व चयनका सम्भावित प्रक्रियाका लागि मार्गप्रशस्त गर्ने अपेक्षा गरिएको छ।

बन्दसत्र सञ्चालन भइरहँदा महाधिवेशनमा सहभागी हुन आएका प्रतिनिधिहरूको नाम दर्ता प्रक्रियालाई पनि निरन्तरता दिइएको छ। यस सत्रमा मुख्य गरी राजनीतिक र साङ्गठनिक प्रतिवेदनहरूमाथि केन्द्रित रहेर छलफल गरिनेछ भने देशभरबाट आएका प्रतिनिधिहरूलाई विभिन्न समूहमा विभाजन गरी सामूहिक बहस गराउने कार्यतालिका रहेको छ। यी प्रतिवेदनहरूमाथि आउने सुझाव र हुने निर्णयले पार्टीको आगामी वैचारिक र साङ्गठनिक दिशा तय गर्नेछन्।

यद्यपि, पार्टीभित्रको आन्तरिक शक्ति सङ्घर्षका कारण संस्थापन पक्षले भने यो महाधिवेशनलाई अवैधानिक भन्दै विरोध र बहिष्कार गरिरहेको छ। संस्थापन पक्षको विरोधका बाबजुद आयोजक पक्षले विधानको व्यवस्थाअनुसार नै महाधिवेशन आयोजना गरिएको दाबी गर्दै आएको छ। विशेष महाधिवेशनको यो बन्दसत्र र यसले गर्ने निर्णयहरूले नेपाली कांग्रेसको राजनीतिमा कस्तो प्रभाव पार्नेछ भन्ने विषयलाई आम चासोका साथ हेरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ