arrow

एआईलाई समाजसँग जोड्दै केयू: तीन दिने सम्मेलनमा रोबोटिक्सदेखि नीतिगत बहससम्म

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २८ सोमबार
kathmandu-university.jpg

काठमाडौँ ।काठमाडौँ विश्वविद्यालयमा आजदेखि सुरु भएको ‘एआई कन्क्लेभ–२०२६’ ले नेपालको प्रविधि क्षेत्रमा नयाँ उत्साह थपेको छ। धुलिखेलस्थित विश्वविद्यालयको आर्टिफिसियल इन्टेलिजेन्स क्लबको आयोजनामा सञ्चालित यस तीन दिने सम्मेलनले कृत्रिम बुद्धिमत्तालाई केवल अनुसन्धानको विषयमा मात्र सीमित नराखी यसको व्यावहारिक प्रयोगलाई समाजका विभिन्न क्षेत्रसँग जोड्ने लक्ष्य राखेको छ।

विगतका वर्षहरूमा सञ्चालित ‘एआई–मिट’ लाई परिस्कृत गर्दै यसपटक ‘ब्रिजिङ इन्टेलिजेन्स एन्ड इनोभेसन’ भन्ने मूल नाराका साथ यो बृहत् कार्यक्रम आयोजना गरिएको हो।

सम्मेलनको पहिलो दिन आज राष्ट्रिय स्तरको एआई समिट सञ्चालन भइरहेको छ भने आगामी दुई दिनसम्म एआईको बहुआयामिक प्रयोगबारे विविध गतिविधिहरू हुनेछन्। आयोजकका अनुसार मंगलबार प्रोजेक्ट प्रदर्शनी, रोबोटिक्स प्रतियोगिता र टेक–टक्स जस्ता प्राविधिक आकर्षणहरू रहनेछन् भने अन्तिम दिन बुधबार एआई नीति र समाजमा यसको प्रभावबारे प्यानल डिस्कसन तथा ई–गेम्सको फिनाले आयोजना गरिनेछ। यस कार्यक्रमले विद्यार्थी, नीति–निर्माता र उद्योगीहरूलाई एउटै थलोमा ल्याएर शिक्षा, स्वास्थ्य, वित्त र शासन प्रक्रियामा एआईको प्रभावकारी भूमिकाबारे छलफल गर्ने वातावरण निर्माण गरेको छ।

तीन चरणमा विभाजित ‘एआई कन्भर्जेन्स–२०२६’ को यो दोस्रो र मुख्य चरण हो, जसमा करिब पाँच हजार अवलोकनकर्ताको सहभागिता रहने अनुमान गरिएको छ। यस सम्मेलनमार्फत एआई प्रविधिलाई जेनरेटिभ टुल्सको घेराभन्दा बाहिर निकालेर सामाजिक रूपान्तरणको माध्यम बनाउने उद्देश्य राखिएको छ। प्रविधि क्षेत्रका स्टार्टअपदेखि अनुसन्धानकर्तासम्मलाई समेट्ने यो प्रयासले नेपालमा एआईको भविष्य र यसको नीतिगत स्पष्टताका लागि कोसेढुङ्गा साबित हुने अपेक्षा गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ