arrow

रोबोट उत्पादनमा चीनको विश्वव्यापी 'दबदबा': बजारको ठूलो हिस्सा चिनियाँ कम्पनीको हातमा

वार्षिक १३ हजार रोबोट आपूर्ति हुँदा ३९ प्रतिशत हिस्सा एउटै कम्पनीको

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २८ सोमबार
china-robert-dance.jpg

काठमाडौँ । सन् २०२५ मा विश्वभर भएका रोबोट उत्पादनमा चिनियाँ कम्पनीहरूले अग्रस्थान हासिल गरेका छन्। लन्डनस्थित प्रविधि परामर्श संस्था 'ओमडिया' ले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनले निर्माण र प्रविधि क्षेत्रमा चीनले गरेको तीव्र प्रगतिलाई उजागर गरेको हो।

प्रतिवेदनअनुसार शाङ्घाइस्थित एजीबोट वार्षिक ५ हजार १०० भन्दा बढी रोबोट आपूर्ति गर्दै विश्व बजारको ३९ प्रतिशत हिस्सा ओगटेर पहिलो स्थानमा रहेको छ। त्यसैगरी, हाङझाउको युनिट्री (४,२०० एकाइ) दोस्रो र सेन्जेनको युबिटेक (१,००० एकाइ) तेस्रो स्थानमा रहेका छन्। यी कम्पनीका रोबोटहरू औद्योगिक, व्यावसायिक र शिक्षाका क्षेत्रमा व्यापक रूपमा प्रयोग भइरहेका छन्।

गत वर्ष अमेरिकाका प्रसिद्ध कम्पनीहरू टेस्ला, फिगर एआई र एजिलिटी रोबोटिक्सले १५० देखि ५०० एकाइसम्म मात्र रोबोट आपूर्ति गर्न सकेका छन्। विश्वभर वार्षिक रूपमा करिब १३ हजार रोबोट आपूर्ति भएको अनुमान गरिएको छ, जसमा चिनियाँ कम्पनीहरूको संख्यात्मक उपस्थिति निकै बलियो देखिएको छ।

एजीबोटका प्रमुख वैज्ञानिक लो जियानलानका अनुसार सन् २०२६ रोबोट उद्योगका लागि एउटा ऐतिहासिक मोड (टर्निङ पोइन्ट) हुनेछ। उनले अब रोबोटहरू सीमित क्षमताबाट माथि उठेर उच्च कार्यसम्पादन र व्यवहारिक प्रयोगतर्फ केन्द्रित हुने बताए। प्रयोगकर्ताको संख्या बढ्दै जाँदा प्राप्त हुने 'डाटा' ले रोबोटहरूलाई अझ बढी प्रभावकारी र बुद्धिमानी बनाउन सहयोग पुग्ने प्रतिवेदनमा उल्लेख छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ