एकाउन्न यात्रु बेपत्ता भएको त्यो भयानक रातको साक्षी: त्रिशूलीको बालुवामुनि भेटियो बसको भाग, नम्बर प्लेट खोज्दै प्रहरी
त्रिशूलीमा भेटिएको बसको उत्खनन आज पनि जारी: 'गणपति डिलक्स' नै भएको प्रहरीको प्रारम्भिक अनुमान
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २८ सोमबार
1.1k
Shares
काठमाडौँ । नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा गत असारमा पहिरोसँगै त्रिशूली नदीमा बेपत्ता भएको बसको अवशेष फेला परेपछि आज पनि उत्खनन कार्य जारी रहने भएको छ। तनहुँको आबुँखैरेनी गाउँपालिका–५, दुन्द्राङबेँसीस्थित नदी किनारमा आइतबार बसको अगाडिको केही भाग पुरिएको अवस्थामा फेला परेको थियो।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार, आइतबार दिनभर नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उत्खनन गरे पनि बसलाई पूर्ण रूपमा निकाल्न बाँकी रहेकाले आज पुनः सोही कार्यलाई निरन्तरता दिइनेछ। यो बस विसं २०८१ असार २८ गते सिमलतालबाट बेपत्ता भएको काठमाडौँ–गौर रुटको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको ‘गणपति डिलक्स’ हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक (प्रनाउ) श्रवणकुमार विकका अनुसार, हिजो बिहान १०ः४५ बजे बसको भाग देखिएपछि तत्कालै इलाका प्रहरी कार्यालय साराङघाट र आबुँखैरेनीबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली घटनास्थल खटिएको थियो। "बस नदी किनारमा बालुवाले पुरिएको अवस्थामा छ, पूर्ण रूपमा निकालेर नम्बर प्लेट हेरेपछि मात्रै आधिकारिक पुष्टि हुनेछ," प्रनाउ विकले बताए।
सिमलताल दुर्घटनामा दुईवटा बस त्रिशूलीमा खसेका थिए, जसमा सवार ६५ जनामध्ये ५१ जना अझै बेपत्ता छन्। लामो समयपछि बसको अवशेष भेटिनुलाई बेपत्ता यात्रुहरूको स्थितिको खोजीमा एउटा महत्वपूर्ण उपलब्धिको रूपमा हेरिएको छ।