संस्थापन पक्षले आफूहरूतिर फालेको ढुंगा जम्मा पारेर कांग्रेसको घर निर्माण गर्छौँ : गुरुराज घिमिरे [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २७ आइतबार
918
Shares
काठमाडौँ । नेपाली कांग्रेस नेता गुरुराज घिमिरेले पार्टी सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितका पदाधिकारीलाई विशेष महाधिवेशनमा आउन आग्रह गरेका छन् ।
पार्टीको दोस्रो विशेष महाधिवेशनमा उनले सबै पदाधिकारी र केन्द्रीय सदस्यलाई महाधिवेशनमा उपस्थित भएर उत्सवका रूपमा मनाउने वातावरण निर्माण गर्नपर्नेमा जोड दिए ।
उनले विशेष महाधिवेशनलाई कसैले पनि नजर अन्दाज नगरी उत्सवका रूपमा लिन आग्रह गरे ।
‘विशेष महाधिवेशनलाई नजरअन्दाज नगर्नुस् । फागुन २१ को निर्वाचनमा दिग्बिजय बनाउने उत्सवको रूपमा लिन आग्रह गर्दछु,’ घिमिरेले भने ।
उनले कांग्रेसलाई यथास्थितिमा राख्न नसकिने भन्दै लोकतन्त्रको सुनिश्चित भविष्यका लागि नेपाली कांग्रेसले नयाँ नीति र नेतृत्व लिएर अघि बढ्ने बताए ।
घिमिरेले पार्टीलाई नवीन बनाउन प्रयास गर्दा संस्थापन पक्षले आफूहरूतर्फ ढुंगा प्रहार गरेकोसमेत बताए ।
संस्थापन पक्षले आफूहरूतिर फालेको ढुंगा जम्मा पारेर कांग्रेसको घर निर्माण गर्ने बताएका छन् ।
‘नेपाली कांग्रेसजस्तो सहनशील पार्टी एउटा पक्षलाई निस्तेज पार्ने ठाउँमा कसरी पुर्याउनुभयो ?,’ पार्टी सभापति शेरबहादुर देउवालाई प्रश्न गर्दै उनले भने, ‘हामीमाथि पत्थर फाल्नुभएको छ, म फूलको थुंगा दिएर भन्न चाहन्छु, हामी तपाईंहरूले फालेका पत्थरलाई जम्मा पारेर कांग्रेसको घर बनाउन चाहन्छौँ ।’