arrow

धनुषामा ४५ सय बढी निर्वाचन प्रहरी भर्ना गरिँदै: ४० दिनको काम बापत पाइनेछ ३४ हजार तलब

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २७ आइतबार
Mahila-myadi-prahari-toli-duty.jpeg

काठमाडौँ । धनुषामा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि चार हजार ५२७ जना निर्वाचन प्रहरी भर्ना गर्ने प्रक्रिया सुरु गरिएको छ। जिल्ला प्रशासन कार्यालयले जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा सुरक्षा जनशक्ति व्यवस्थापन गर्न योग्य नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरेको छ।

यसका लागि निर्वाचन प्रहरी भर्ना छनोट तथा नियुक्ति समितिले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँग आवश्यक समन्वय गरिरहेको छ। १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका इच्छुक नागरिकहरूले आगामी माघ १ गतेसम्म आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ।

निर्वाचन प्रहरीको कार्यअवधि नियुक्ति भएको मितिबाट ४० दिनको हुनेछ भने आवश्यकता अनुसार सरकारले यसलाई फेरबदल गर्न सक्नेछ। सेवा सुविधाको हकमा छनोट भएका व्यक्तिहरूले प्रतिदिन ८६९ रुपैयाँ ४० पैसाका दरले ४० दिनको जम्मा ३४ हजार ७७६ रुपैयाँ पारिश्रमिक प्राप्त गर्नेछन्।

यसका साथै जिल्लामा खटिने नेपाल प्रहरी र सशस्त्र प्रहरीले पाउने दररेट अनुसार नै उनीहरूलाई खाद्यान्न खर्च समेत उपलब्ध गराइने सहायक प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले जानकारी दिए।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित तवरले सम्पन्न गराउनका लागि पर्याप्त सुरक्षाकर्मी परिचालन गर्ने तयारी भएको उल्लेख छ।

हाल धनुषामा कुल चार लाख १४ हजार ५७१ जना मतदाता रहेका छन् भने निर्वाचनका लागि ३२२ मतदानस्थल र ६४५ मतदान केन्द्रहरू तय भइसकेका छन्। स्थानीय प्रशासनले सबै मतदाता र सरोकारवालाहरूलाई निर्वाचनको मर्यादा कायम राख्दै संयमित रूपमा सहभागी हुन अनुरोध गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ