arrow

दानासाँघु खोलामा एकैसाथ दुई पुल निर्माण हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २७ आइतबार
pool-bajura.jpg

बाजुरा । बाजुराको दानासाँघु खोलामा एकैसाथ पक्की र बेलिब्रिज पुल निर्माण भइरहेका छन् ।

बाजुराको मार्तडी-कोल्टी सडकखण्डको बुढीनन्दा नगरपालिका-२ अन्तर्गत पर्ने दानासाँघु खोलामा वेलिब्रिज र २५ मिटर लामो मोटरेवल पक्की पूल एकसाथ निर्माण कार्य शुरू भएको हो ।

पक्की पूल बन्न समय लाग्ने भएकाले उक्त समयसम्म स्थानीयलाई आवतजावतमा सहजता दिनका लागि बेलिब्रिज निर्माणको कार्य पनि एकैसाथ शुरू गरिएको बुढीनन्दा नगरपालिकाका नगर उपप्रमुख रामबहादुर बोहराले जानकारी दिए ।

बोहराले बेलिब्रिजको शिलान्यास गरेको तीन दिनपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पक्की पुलको शिलान्यास गरेका हुन् ।

वर्षौँदेखि यस खोलामा पुल नहुँदा स्थानीय र केही छिमेकी जिल्ला हुम्ला, मुगु, कालीकोटलगायतका नागरिकले समेत बर्षातको समयमा सास्ती खेप्नु परेको अवस्था छ ।

जडाङ्गाको बेलिब्रिज दानासाँघु खोलामा स्थानान्तरणका लागि निर्माण कार्य भइरहेको हो ।

सडक डिभिजन कार्यालय साँफेबगरले करिब दुई करोड २२ लाख रुपैयाँ लागतमा बेलिब्रिज पुल सार्न लागेको हो भने प्रदेश सरकारको भ्याट र पिएससहित तीन करोड ९३ लाख ७५ हजार तीन सय ९६ रुपैयाँ लागतमा पक्की पुल निर्माण हुनेछ ।

पक्की पुल निर्माणका लागि प्रदेशस्थित भौतिक पूर्वाधार विकास कार्यालयले सहयोग गरेको कार्यालयका प्रमुख इन्जिनियर जंग थापाले जानकारी दिए ।

उनका अनुसार विसं २०८४ असार मसान्तसम्म पुल निर्माण सम्पन्न गर्ने गरी धनगढी-५ हसनपुर कैलालीले पक्की पुल निर्माणको ठेक्का पाएको छ ।

पक्की पुल निर्माण नहुँदासम्म बेलिब्रिजले सहजता दिने भएकाले एउटै खोलामा दुईटा पुल निर्माण गर्न लागिएको बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनककुमार बोहराले बताए ।

उनका अनुसार पूल निर्माण भएपछि बर्षाैँदेखिको स्थानीयको सपना साकार हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ