शुरू भयो ट्राफिक सप्ताह, सडक पूर्वाधार पुनःनिर्माण नभएकोप्रति चिन्ता
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २६ शनिबार
643
Shares
काठमाडौँ । ट्राफिक प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारी आन्दोलनले क्षतिग्रस्त भएका सडक पूर्वाधारहरू अझै पूर्णरुपमा निर्माण नहुँदा पनि ट्राफिक प्रहरी उच्च मनोबलसाथ अहोरात्र सडक व्यवस्थापनमा खटिरहेको बताएका छन् ।
दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२ को समुद्घाटन कार्यक्रममा उनले आन्दोलनको क्रममा क्षतिग्रस्त भएका सडक पूर्वाधारहरु निर्माण हुन नसेको बताएका हुन् ।
‘आन्दोलनको क्रममा क्षतिग्रस्त भएका रोड, फर्निचर, सचेतना बोर्ड, ट्राफिक सिग्नल, ट्राफिक लाइटहरू, सीसी क्यामेराहरू जस्ता सडक पूर्वाधारहरु पूर्णरुपमा स्थापना हुन बाँकी नै छन् । त्यसका बाबजुत पनि ट्राफिक प्रहरीहरूले उच्च मनोबलका साथ अहोरात्र सडक व्यवस्थापनमा खटिरहेको व्यहोरा निवेदन गर्न चाहन्छु,’ उनले भने ।
ट्राफिक प्रहरी प्रमुख अधिकारीले दिनानुदिन बढ्दो सवारी चाप, जाम नियन्त्रण गर्न एकिकृत बसपार्क प्रणाली कार्यान्वयन गर्दै काम गरिरहेको पनि जानकारी दिए ।
साथै, उनले चोरी भएका सवारी साधन फेला पारेर सम्बन्धित धनीहरूलाई हस्तान्तण गर्ने काम निरन्तर भइरहेको पनि बताए।
उनले भने, ‘दिनानुदिन बढ्दो सवारी चाप, जाम नियन्त्रण गर्न एकीकृत बसपार्क प्रणाली कार्यान्वयन गर्दै अनावश्यक फुटप्रविण खारेज गरेपछि सम्बन्धित क्षेत्रहरुको सवारी जाँच उल्लेख्यरुपमा घटेको छ ।
यसैगरी मोटरसाइकल चोरी नियन्त्रणका लागि ट्राफिक प्रहरीहरू परिचालन गरि चोरी भएका सवारी साधन फेला पारेर सम्बन्धित धनिहरुलाई हस्तान्तरण गर्ने काम निरन्तर चलिरहेको छ ।’
अधिकारीले धुँवा, धुलो र ध्वनीको उच्च जोखिममा पनि ट्राफिक प्रहरीको मानसिक, शारीरिक स्वास्थ्यका लागि विभिन्न अभियान सञ्चालन गरेको बताए ।
जेन-जी आन्दोलनपछि उपत्यकामा ध्वनी आतंक सिर्जना गर्ने, मोडिफाई बाइकहर"लाई नियन्त्रणमा लिई सडक अनुशासनलाई लयमा फर्काउन ट्राफिक प्रहरी सफल भइसकेको पनि उनले दावी गरे ।
काठमाडौँ महानगरकी उपप्रमुख सुनीता डंगोलले काठमाडौँ महानगरपालिका र ट्राफिक प्रहरी सवारी व्यवस्थापन एवं सडक दुर्घटना न्यूनीकरणका लागि समन्वय भइरहेको बताइन् ।
‘काठमाडौँ महानगर र ट्राफिक प्रहरी निकै नजिक रहेर काम गरिरहेका छौँ । काठमाडौँ महानगरपालिकाले सवारी व्यवस्थापन र सडक दुर्घटना न्यूनीकरणलाई एकदमै संवेदनशील विषयका रुपमा लिएका छौँ । त्यसकारण पनि हामीले ट्राफिक प्रहरीसँग समन्वयकारी भूमिका गर्दै आएका छौँ,’ उनले भनिन् ।
आज ‘अनावश्यक हर्न बजाई ध्वनी प्रदूषण नगरौँ, सभ्यताको परिचय दिउँ’ भन्ने सन्देशसहित ‘दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२’ को अवसरमा प्रभातफेरी कार्यक्रम समेत आयोजना गरिएको छ ।
‘ट्राफिक नियम पालना गरौं, दुर्घटनाबाट बचौँ र बचाऔं’ भन्ने नारासहित आयोजित कार्यक्रममा सचेतनामूलक प्लेकार्डसहित सहभागीहरू सडकमा उत्रिएका छन् ।