विशेष महाधिवेशनले एकताको सन्देश दिन्छः उदयशमशेर राणा [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २५ शुक्रबार
867
Shares
काठमाडौँ । नेपाली कांग्रेसका नेता उदयशमशेर राणाले पार्टीका कुनै पनि नेता कार्यकर्ताले पार्टी विभाजन होस् भन्ने नचाहेको बताएका छन् ।
उनले आशन्न प्रतिनिधि सभा निर्वाचन नेपाली कांग्रेसका लागि ठूलो चुनौती रहेको उल्लेख गर्दै उक्त चुनौतीको सामना गर्न पार्टीभित्र आन्तरिक एकता अपरिहार्य रहेको बताए ।
उनले पार्टीका नेता कार्यकर्तालाई उग्र नभई संयमित हुन आग्रह गर्दै पार्टीभित्रको समस्या समाधान गर्न मध्यमार्गी बाटो अपनाउन समेत अपिल गरे ।
नेता राणाले विशेष महाधिवेशनलाई सफल बनाउन पार्टीका सबै तहका नेता तथा कार्यकर्तालाई सहयोग गर्न अपिल पनि गरे ।
उनले भने, ‘फागुन २१ गतेको निर्वाचन अगाडि पार्टीभित्र केही समस्याहरू हामीले देखेका छौँ । अब विषेश महाधिवेशनको आह्वान पनि भएको छ । पार्टी विभाजित हुने कुरामा म विश्वास गर्दिनँ । कुनै पनि कांग्रेसका नेता कार्यकर्ताले पनि कांग्रेस फुटोस् भन्ने चाहेका छैनन् । तर चुनाव अगाडि हामी सबै एउटै ठाउँमा उभिएर यो जटिल अवस्थाको सामना गर्नुपर्ने अवस्था छ । प्रतिनिधि सभा चुनाव नेपाली कांग्रेसका निम्ति एकदमै चुनौतीको रुपमा आएको छ । यसलाई फेस गर्नका लागि सबै साथीहरू एकै ठाउँमा उभिएर चुनावमा जानुपर्छ भन्ने हाम्रो धारणा हो । र म नेपाली कांग्रेसका सबै नेता र कार्यकर्ताहरूलाई धेरै उग्र भएर हामी नहिँडौँ भनेर आग्रह पनि गर्न चाहन्छु । यसरी उग्र भएर राम्रो नतिजा दिँदैन । सबैले संयमित भएर यो विशेष महाधिवेशलाई सेफ ल्याण्ड गराउन जरुरी देखिएको कारणले हामीले यसको लागि मध्यमार्गी बाटो खोज्नुपर्छ । हामी सबैलाई अपील पनि गर्न चाहन्छौँ । विशेष महाधिवेशनलाई सफल पार्नका लागि सहयोग गर्नुहोस् ।’
उनले आइतबारदेखि हुने विशेष महाधिवेशनले एकताको सन्देश दिने जिकिर पनि गरे ।