बाहार्नाखोलामा जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु, चार घाइते
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २५ शुक्रबार
810
Shares
सुर्खेत। जाजरकोटमा शुक्रबार बिहान जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै ज्यान गएको छ ।
छेडागाड नगरपालिका वडा नं ९ पजारुका ७० वर्षीया नन्दकला अधिकारी र २८ वर्षीय राजु अधिकारीको घटनास्थलमै मृत्यु भएको जाजरकोटका प्रहरी प्रमुख वसन्तकुमार शर्माले जानकारी दिए ।
साथै साेही दुर्घटनामा अन्य चार जना घाइते भएकाे प्रहरी प्रमुख शर्माले जानकारी दिए ।
घाइते हुनेमा छेडागाड नगरपालिका वडा नं ९ का २४ वर्षीय कृष्ण अधिकारी, वडा नं ८ की २० वर्षीया लक्ष्मी खत्री, वडा नं ९ का ३९ वर्षीय बीरबहादुर रोकाय, दैलेख नौमुले गाउँपालिका वडा नं ६ की २३ वर्षीया शीतला रावत छन् ।
उनीहरूको छेडागाड नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
छेडागाड नगरपालिका वडा नं ८ बाहार्नाखोलास्थित भित्री सडकमा छेडागाड नगरपालिका वडा नं ९ पजारुबाट थलहतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२-००१ च १३२७ नं को डबल क्याब बोलेरो जीप ब्रेक फेल भई सडकबाट एक सय ५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनाबारे अनुसन्धान भइरहेको एसपी शर्माले जानकारी दिए ।