कांग्रेस विशेष महाधिवेशनस्थल भृकुटीमण्डप सिंगारिँदै, प्रतिनिधिहरूको चहलपहल बढ्यो [तस्बिर]
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २५ शुक्रबार
885
Shares
काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको तयारी तीव्र रुपमा भइरहेको आयोजकले जनाएको छ । पुस २७ र २८ गते भृकुटीमण्डपमा हुन लागेको विशेष महाधिवेशनका लागि जिल्ला जिल्लाबाट महाधिवेशन प्रतिनिधिहरू आउने क्रम जारी रहेको छ ।
आयोजक समूहले प्रतिनिधिहरूको सुविधा सुनिश्चित गर्न काठमाडौंका विभिन्न होटेलमा १५ सय कोठा छुट्टाइएको बताएको छ । एयरपोर्टदेखि ठमेलसम्मका विभिन्न होटलका कोठा बुक गरिएको हो ।
आवास तथा खानपान व्यवस्थापन समितिका संयोजक रमेश धमलाले महिला, ज्येष्ठ नागरिक र अपांगता भएका प्रतिनिधिहरूका लागि विशेष व्यवस्थासहित कोठाहरू बुक गरिएको बताए ।
काठमाडौँमा घर भएका वा आफन्तको घरमा बस्ने प्रतिनिधिहरूलाई सो अनुसार व्यवस्थापन गर्न अनुरोध गरिएकोसमेत उनले जानकारी दिए ।
सबैलाई शनिबारसम्म काठमाडौँमा आइपुग्न भनिएको छ । कांग्रेसलाई पुनःजागरण गर्नका लागि पनि विशेष महाधिवेशनले भूमिका खेल्ने भन्दै महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन बोलाएका हुन् ।
पार्टीको विधानअनुसार महाधिवेशन बोलाएका उनीहरूको कार्यक्रम असफल बनाउन बहिर्गमन नजिक पुगेका सभापति शेरबहादुर देउवाले आफू निकटको नेतृत्वमा रहेका संघ संगठनका नेतृत्वलाई उचालिरहेका छन् ।
विधानअनुसार कांग्रेसको विशेष महाधिवेशन पुस २९ भित्र भइसक्नुपर्छ । ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग्दै असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाएका थिए ।
यता विशेष महाधिवेशन शुरू हुनुअघि नै भृकुटीमण्डप क्षेत्रमा महाधिवेशन प्रतिनिधि तथा कार्यकर्ताहरू आउने क्रम चलिरहेको छ । देशभरका विभिन्न जिल्लाबाट प्रतिनिधिहरू काठमाडौं आइपुग्न थालेसँगै महाधिवेशन स्थल आसपासमा चहलपहल तीव्र बन्दै गएको हो।
पुस २७ र २८ गते आयोजना हुने विशेष महाधिवेशनका लागि प्रतिनिधिहरू क्रमशः भृकुटीमण्डप पुग्न थालेका छन्। मञ्च निर्माण, हल सजावट तथा प्राविधिक तयारी अन्तिम चरणमा पुगिरहँदा प्रतिनिधि र कार्यकर्ताहरूको उपस्थितिले स्थल क्षेत्र थप सक्रिय देखिएको छ।
महाधिवेशन व्यवस्थापन समितिका अनुसार आजदेखि प्रतिनिधि दर्ता, परिचयपत्र वितरण तथा बसोबास समन्वयसम्बन्धी कामहरू पनि सँगसँगै अघि बढाइँदै छन्। प्रतिनिधिहरू आगमन हुन थालेपछि स्वयंसेवकहरू परिचालन गरिँदै स्थल व्यवस्थापनलाई थप चुस्त बनाइएको छ।
भृकुटीमण्डप परिसरमा पार्टीका झन्डा, ब्यानर तथा प्रचार सामग्री राख्ने काम भइरहेको छ भने प्रवेशद्वार व्यवस्थापन, सुरक्षासम्बन्धी समन्वय र यातायात व्यवस्थापनमा पनि तयारी तीव्र पारिएको छ।
नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको प्रत्यक्ष संलग्नतामा आह्वान गरिएको विशेष महाधिवेशनलाई पार्टीभित्रको आन्तरिक राजनीतिक बहसका दृष्टिले महत्वपूर्ण मानिएको छ। त्यसैले प्रतिनिधिहरू मात्र होइन, शुभेच्छुक तथा समर्थकहरू पनि राजधानी आइरहेका छन्।
जनपरिचालन समितिका अनुसार उद्घाटन सत्रमा ठूलो संख्यामा कार्यकर्ता तथा शुभेच्छुकको उपस्थिति रहने अपेक्षा गरिएको छ। यससँगै भृकुटीमण्डप क्षेत्र विशेष महाधिवेशन केन्द्रित राजनीतिक गतिविधिको मुख्य केन्द्रका रूपमा रूपान्तरण हुँदै गएको छ।