arrow

कांग्रेस विशेष महाधिवेशनका लागि प्रतिनिधि भेला हुने क्रम जारी, कोशीबाट बहुमत प्रतिनिधि काठमाडौँमा 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २५ शुक्रबार
khadga-phago-nc-.jpg
तस्बिर : कांग्रेस नेता खड्ग फागो ।

काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिहरू काठमाडौँ आउने क्रम शुरू भएको छ । पुस २७ र २८ गते भृकुटीमण्डपमा हुने विशेष महाधिवेशनले राजनीतिक माहोल तातिरहेका बेलामा प्रतिनिधिहरू धमाधम काठमाडौँमा आउँदा रौनक अझ बढेको छ । 

सो क्रममा कोशी प्रदेशबाट पनि प्रतिनिधिहरू आउने क्रम शुरू भइसकेको छ । नेपाली कांग्रेस कोशी प्रदेशका सहमहामन्त्री खड्ग फागोले कोशी प्रदेशबाट विशेष महाधिवेशनका लागि दुई तिहाइ प्रतिनिधिहरूको समर्थन रहेको दाबी गरेका छन् ।

सहमहामन्त्री फागोका अनुसार विशेष महाधिवेशनका लागि कोशी प्रदेशबाट उत्साहजनक सहभागिता देखिएको छ । उनले भने, “हामी विशेष महाधिवेशन प्रतिनिधिको लागि कोशी प्रदेशबाट २७७ जना काठमाडौँ आइसकेका छौँ । आजसम्ममा अत्यधिक प्रतिनिधिहरू काठमाडौँ आउनु हुनेछ ।”

कोशी प्रदेशमा कुल प्रतिनिधि संख्या करिब ७२८ को हाराहारीमा रहेको बताउँदै उनले तीमध्ये ठूलो हिस्सा विशेष महाधिवेशनको पक्षमा उभिएको बताए । यसअघि सभापति शेरबहादुर देउवाको समूहमा देखिएका फागो अहिले पार्टी रूपान्तरण र गगन–विश्वको लाइनमा उभिनुको कारण पार्टीको बिग्रँदो अवस्थालाई ठानेका छन् । 

उनले वर्तमान नेतृत्वले कांग्रेसको मूल्य, मान्यता र सिद्धान्तलाई सत्तासँग साटेको आरोप लगाएका छन् । उनले स्पष्ट रूपमा भनेका छन्, “हामीलाई कुनै पात्र वा समूहभन्दा पनि नेपाली कांग्रेसको अस्तित्व ठूलो हो ।” 

उनले अहिलेको विशेष महाधिवेशन जेन-जी आन्दोलनको पनि सम्मान हुने गरी भइरहेको बताए । फागोले भने, “७६ जना शहीदको रगतले सिँचित यो पार्टी आज एमाले र माओवादीको सहारामा मात्र सत्तामा पुग्ने खेलमा लागेको छ । सिद्धान्त र विचारहरू गौण भए, सत्ता र शक्ति मात्रै प्राथमिकतामा पर्यो ।” उनले अगाडि थपे, “अहिलेको नेतृत्वले कांग्रेसलाई एमाले र माओवादीको पिछलग्गु बनाएको छ । हामी यो ‘घुँडा टेकेको नेपाली कांग्रेस’लाई फेरि आफ्नो खुट्टामा उभिने र हिँड्ने बनाउन चाहन्छौँ ।”

फागो प्रतिनिधिहरूको व्यवस्थापन र समन्वयमा सक्रिय रहेका छन् । १६ वटा विभिन्न समितिहरू बनाएर काठमाडौँमा व्यवस्थापन गरिरहेको उनले जानकारी दिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ