arrow

प्रतिनिधि सभा निर्वाचन

निर्वाचनका लागि झापामा सुरक्षाको 'कडा घेरा': ७५ सय सुरक्षाकर्मी खटिने, ४७ सय निर्वाचन प्रहरीको खुल्यो भर्ना

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २५ शुक्रबार
myadi-training-final.jpg

काठमाडौँ । आगामी फागुन २१ गते देशभर एकै चरणमा हुन लागेको प्रतिनिधि सभा निर्वाचनलाई मध्यनजर गर्दै झापा जिल्लामा सुरक्षा प्रबन्धलाई निकै चुस्त बनाउन लागिएको छ। जिल्लामा निर्वाचनलाई भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउनका लागि कुल ७५ सय  सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए।

यस सुरक्षा टोलीमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका साथै चार हजार ७४८ जना निर्वाचन प्रहरी (म्यादी सुरक्षाकर्मी) समावेश हुनेछन्। निर्वाचन प्रहरीको छनोटका लागि आजैदेखि भर्ना प्रक्रिया सुरु गरिएको छ भने इच्छुक उम्मेदवारहरूले आगामी माघ ५ गतेभित्र दरखास्त दिइसक्नुपर्ने सूचनामा उल्लेख छ।

जिल्लाको भौगोलिक र सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गर्दै मतदानस्थल र केन्द्रहरूको वर्गीकरण समेत गरिएको छ। झापामा तोकिएका कुल २८५ मतदानस्थलमध्ये ९५ वटालाई अतिसंवेदनशील, १४७ वटालाई संवेदनशील र ४३ वटालाई सामान्य सूचीमा राखिएको छ।

त्यसैगरी कुल ८१५ मतदान केन्द्रमध्ये २७१ केन्द्र अतिसंवेदनशील, ३९० संवेदनशील र १०५ वटा सामान्य अवस्थामा रहेका छन्। यसपटक मतदाताको सहजताका लागि जिल्लामा ४९ वटा मतदान केन्द्र थप गरिएका छन्। अतिसंवेदनशील मानिएका क्षेत्रहरूमा सुरक्षाको विशेष र थप प्रबन्ध मिलाइने प्रजिअ गेलालले स्पष्ट पार्नुभएको छ।

निर्वाचन सुरक्षाका लागि आवश्यक पर्ने निर्वाचन प्रहरीको भर्नाका लागि सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले संयुक्त रूपमा काम अघि बढाइसकेका छन्। सुरक्षाकर्मीहरूको यो ठूलो उपस्थिति र सघन परिचालनले निर्वाचनका क्रममा हुन सक्ने सम्भावित अवाञ्छित गतिविधिहरूलाई रोक्न र आम नागरिकलाई निर्धक्कसँग मतदान गर्ने वातावरण सिर्जना गर्न मद्दत पुग्ने विश्वास गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ