काठमाडौँ । आज राष्ट्रिय सभा अन्तर्गतका दुई महत्त्वपूर्ण संसदीय समितिको बैठक बस्दैछ। संघीय संसद् सचिवालयका अनुसार विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान साढे ११ बजेका लागि बोलाइएको छ।
विधायन व्यवस्थापन समितिको बैठकमा 'पर्यटन विधेयक, २०८१' का सम्बन्धमा सरोकारवाला पक्षहरूसँग दफावार छलफल गर्ने कार्यसूची रहेको छ। पर्यटन क्षेत्रलाई थप व्यवस्थित र समयसापेक्ष बनाउन ल्याइएको यस विधेयकमाथि विज्ञ र सरोकारवालाका सुझावहरू लिइनेछ।
त्यसैगरी, सोही समयमा बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा 'अध्यागमन ऐन २०४९' को कार्यान्वयनको वर्तमान अवस्था र प्रत्यायोजित विधायन सम्बन्धमा तयार पारिएको अध्ययन प्रतिवेदन २०८२ माथि गहन छलफल हुनेछ। यस बैठकले अध्यागमन प्रशासनमा रहेका नीतिगत जटिलता र सुधारका पक्षहरूलाई केलाउने अपेक्षा गरिएको छ।