झापामा चुनावी तयारी तीव्र, माघ २ देखि निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आउने
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २४ बिहिबार
749
Shares
काठमाडौँ। आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रशासनिक र सुरक्षा तयारी झापामा द्रुत गतिमा अघि बढाइएको छ। जिल्ला प्रशासन कार्यालय झापाले बुधबार आयोजना गरेको सर्वपक्षीय छलफलमार्फत निर्वाचन व्यवस्थापन, सुरक्षा रणनीति र आचारसंहिता पालनाका विषयमा औपचारिक तयारी सुरु भएको घोषणा गरेको हो।
प्रमुख जिल्ला अधिकारी शिवराम गेलालका अनुसार जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रका लागि छुट्टाछुट्टै निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछ, जसमा मुख्य निर्वाचन अधिकृतको कार्यालय भद्रपुरस्थित जिल्ला समन्वय समितिको भवनमा माघ २ गतेदेखि सञ्चालनमा आउनेछ।
निर्वाचन क्षेत्रगत रूपमा कार्यालयहरूको बाँडफाँड गरिएको छ, जसअनुसार क्षेत्र नम्बर १ को कार्यालय मेचीनगर नगरपालिका, क्षेत्र नम्बर २ को अर्जुनधारा नगरपालिका, क्षेत्र नम्बर ४ को कन्काई नगरपालिका र क्षेत्र नम्बर ५ को कार्यालय दमकस्थित अर्ग्यानिक कृषि भवनमा रहनेछ। मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी जिल्ला न्यायाधीश उमेशप्रसाद लुइँटेललाई सुम्पिएको छ भने अन्य क्षेत्रहरूका लागि क्रमशः गोसप विश्वकर्मा, महेशप्रसाद खत्री, भीमप्रसाद भुर्तेल र विदुरकुमार कार्कीलाई निर्वाचन अधिकृत तोकिएको छ। स्थानीय तहहरूले यी कार्यालयका लागि आवश्यक भौतिक पूर्वाधार र सञ्चार सुविधा उपलब्ध गराउने सहमति गरेका छन् भने विद्युत् प्राधिकरणलाई निर्वाचन अवधिभर निर्बाध विद्युत् आपूर्तिको जिम्मा दिइएको छ।
निर्वाचन कार्यालय झापाले सार्वजनिक गरेको कार्यतालिका अनुसार आगामी माघ ६ गते उम्मेदवारहरूको मनोनयन दर्ता हुनेछ र माघ ९ गतेभित्र अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गरिनेछ। सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै झापामा ४ हजार ७४८ जना 'निर्वाचन प्रहरी' परिचालन गरिने लक्ष्य राखिएको छ, जसको भर्ना प्रक्रिया यसै साताबाट सुरु हुँदैछ। जिल्लाभर २८५ मतदान स्थल र ८१५ मतदान केन्द्रहरू तोकिएका छन् भने कैदीबन्दी र कर्मचारीहरूका लागि तीनवटा अस्थायी मतदान केन्द्रको समेत व्यवस्था गरिएको छ। सबै राजनीतिक दल र सरोकारवाला निकायले निर्वाचनलाई स्वच्छ र भयरहित बनाउन निर्वाचन आचारसंहिता-२०८२ को पूर्ण पालना गर्ने साझा प्रतिबद्धता जनाएका छन्।