arrow

खाद्यले किन्यो छ हजार क्वीन्टल धान

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २३ बुधबार
dhan-bhojpur.jpg

धनुषा। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, मधेस प्रदेश कार्यालय जनकपुरधामले धनुषा र महोत्तरीका किसानबाट हालसम्म छ हजार २७५ क्विन्टल सोना मन्सुली धान खरिद गरेको छ । कार्यालयले गत मङ्सिर २८ गतेदेखि धान खरिद शुरू गरेको हो ।

हालसम्म छ हजार २७५ क्वीन्टल धान खरिद भइसकेको जनाउँदै धनुषा र महोत्तरीका अधिकांश किसानले धान बिक्रीका लागि नाम दर्ता गराएका कार्यालयका वरिष्ठ सहायक जयकिशनप्रसाद चौधरीले जानकारी दिए ।

कम्पनीले प्रतिकिसान अधिकतम् ५० क्विन्टलसम्म धान खरिद गर्दै आएको भए पनि स्थानीय तहको सिफारिसका आधारमा केही किसानबाट करिब ५५ क्वीन्टलसम्म धान खरिद गरिएको उनले बताए । धानको भुक्तानी भने सरकारले किसानको बैंक खातामा पठाउने व्यवस्था गरेको छ ।

कार्यालयका प्रादेशिक प्रमुख निर्मल थापाका अनुसार कम्पनीको गोदाम नजिक दुईटा काँटा राखी बिहान १०ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म किसानले ल्याएका धान खरिद भइरहेको छ ।

हालसम्म धनुषा र महोत्तरीका एक सय ६५ जना किसानले स्थानीय तहको सिफारिसमा धान बिक्री गरिसकेका उनले जानकारी दिए ।

धान बिक्री गर्ने किसानमध्ये धनुषाको लक्ष्मीनिया गाउँपालिका, नगराइन नगरपालिका, क्षिरेश्वरनाथ नगरपालिका तथा महोत्तरीको बलवा नगरपालिकाका बढी रहेका उनले बताए । कम्पनीका अनुसार दैनिक पाँचदेखि १५ जना किसानको धान खरिद भइरहेको छ ।

कार्यालयले १३ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको सहायक प्रबन्धक गङ्गाप्रसाद साहले जानकारी दिए । सरकारले यस वर्ष सोना मन्सुली धानको समर्थन मूल्य प्रतिक्वीन्टल तीन हजार छ रुपैयाँ ३३ पैसा तोकेको छ ।

धान खरिदअघि गुणस्तर परीक्षण गर्ने गरिएको र गुणस्तरीय धानमात्र खरिद भइरहेको कार्यालयका गुणस्तर शाखाकी अधिकृत सरला प्रजापतिले बताए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ