छ जनाको नाम पक्का, मधेसमा अझै रस्साकस्सी, रामकुमारी झाँक्रीदेखि प्रेम दंगालसम्म चुनावी मैदानमा
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २३ बुधबार
1.5k
Shares
काठमाडौँ। नेकपा (एमाले) ले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आफ्ना छ जना उम्मेदवारहरूको नामावली टुङ्गो लगाएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको सचिवालय बैठकको सघन छलफलपछि उम्मेदवारहरूको नाम सार्वजनिक गरिएको हो।
एमालेले यसपटक नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा) नेपालसँग चुनावी तालमेल गरेको छ। सोही गठबन्धनअनुसार एमालेको भागमा ७ सिट परेको भए पनि हालसम्म ६ जनाको मात्र नाम तय भएको छ। मधेस प्रदेशबाट उठ्ने एक उम्मेदवारको नाममा भने अझै रस्साकस्सी चलिरहेको र छलफल जारी रहेको पार्टी स्रोतले जनाएको छ।
एमालेले तय गरेको सूचीअनुसार कोशी प्रदेशबाट रोशनी मेचे, बागमती प्रदेशबाट डा. प्रेमकुमार दंगाल र गण्डकी प्रदेशबाट सम्झना देवकोटालाई उम्मेदवार बनाउने निर्णय गरिएको छ।
त्यसैगरी, लुम्बिनी प्रदेशबाट एकीकृत समाजवादीकी पूर्वनेत्री रामकुमारी झाँक्रीलाई उम्मेदवार बनाएर एमालेले नयाँ समीकरणको सन्देश दिएको छ। कर्णाली प्रदेशबाट मीना रखाल र सुदूरपश्चिम प्रदेशबाट लीलाकुमारी भण्डारीलाई राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाइने भएको छ।
निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आजै उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम तय गरेको छ। आयोगको कार्यतालिका अनुसार आज बिहानदेखि दिउँसोसम्म सम्बन्धित प्रदेशका निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारहरूले आफ्नो मनोनयन पत्र दर्ता गर्नुपर्नेछ। मनोनयन दर्ताको समय घर्किँदै गर्दा एमालेले मधेस प्रदेशको बाँकी रहेको एक उम्मेदवारको नाम पनि केही समयभित्रै टुङ्ग्याएर दर्ता प्रक्रिया पूरा गर्ने तयारी गरेको छ।