बङ्गलादेशले विश्वकपका खेलहरू भारतमै खेल्नुपर्ने, बहिष्कार गरे अङ्क गुम्ने
बङ्गलादेशको 'भेन्यू' सार्ने प्रस्ताव आईसीसीद्वारा खारेज
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २३ बुधबार
897
Shares
बंगलादेशी बलर मुस्तफिजुर रहमान
काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले टी-२० विश्वकपका खेलहरू स्थानान्तरण गर्ने बङ्गलादेश क्रिकेट बोर्ड (बीसीबी) को विशेष अनुरोधलाई पूर्ण रूपमा अस्वीकार गरिदिएको छ।
बीसीबीले सुरक्षा चिन्ताको कारण देखाउँदै आफ्ना खेलहरू भारतबाट हटाएर श्रीलंकामा सार्न आईसीसीसँग अपील गरेको थियो, तर आईसीसीले निर्धारित स्थलमा कुनै परिवर्तन नहुने स्पष्ट पारेको छ। आईसीसीको यो निर्णयसँगै अब बङ्गलादेशले आफ्ना सबै लिग खेलहरू भारतमै खेल्नुपर्नेछ, अन्यथा खेलमा सहभागी नभएबापत उसले महत्त्वपूर्ण अङ्कहरू गुमाउनुपर्ने चेतावनी दिइएको छ।
यो विवादको मुख्य जड चर्चित बङ्गलादेशी बलर मुस्तफिजुर रहमानलाई इन्डियन प्रिमियर लिग (आईपीएल) बाट बहिष्कार गरिएको विषयसँग जोडिएको छ। मुस्तफिजुरलाई आईपीएल खेल्नबाट रोकिएपछि उत्पन्न परिस्थितिलाई लिएर बीसीबीले भारतमा सुरक्षा चुनौती हुनसक्ने दाबी गर्दै भेन्यू परिवर्तनको माग राखेको थियो।
यस निर्णयले बङ्गलादेश क्रिकेट बोर्डलाई ठूलो दबाबमा पारेको छ। विश्वकपको प्रतिष्ठा र प्राविधिक नियमहरूलाई मध्यनजर गर्दै आईसीसीले आयोजना स्थल हेरफेर गर्न नसकिने बताएपछि अब बङ्गलादेशसँग भारतमै गएर खेल्नुपर्ने वा अङ्क गुमाएर प्रतियोगिताबाट बाहिरिनुपर्ने कठिन विकल्प मात्र बाँकी रहेको छ।