काठमाडौँ । हिउँ, बरफ र अत्यधिक चिसोका कारण युरोपका विभिन्न देशहरूको जनजीवन गम्भीर रूपमा प्रभावित भएको छ। मङ्गलबारको खराब मौसमले फ्रान्समा मात्रै पाँच जनाको ज्यान लिएको छ भने युरोपकै व्यस्त विमानस्थलहरूबाट सयौँ उडान रद्द हुँदा हजारौँ यात्रुहरू अलपत्र परेका छन्।
फ्रान्सको दक्षिणपश्चिमी ल्यान्डेस क्षेत्र र पेरिस वरपरको इले–डे–फ्रान्समा भएका सडक दुर्घटना तथा चिसोका कारण पाँच जनाको मृत्यु भएको अधिकारीहरूले जानकारी दिए। भारी हिमपातले पेरिसका ऐतिहासिक स्थलहरू ढाकिएका छन् भने उत्तर र पश्चिम फ्रान्सका छ वटा विमानस्थल बन्द गर्नुपरेको छ। यस्तै, नेदरल्यान्ड्सको एम्स्टर्डमस्थित सिफोल विमानस्थलले करिब ४०० उडान रद्द गरेको छ। रनवे सफा गर्न कठिनाइ भएपछि रेल सेवा समेत प्रभावित भएको छ र एनएस रेलवेले अत्यावश्यक बाहेक यात्रा नगर्न आग्रह गरेको छ।
इटालीको रोममा निरन्तरको वर्षाले टाइबर नदीको सतह बढेपछि मेयर रोबर्टो गुअल्तेरीले पार्क र जोखिमयुक्त क्षेत्रमा जान प्रतिबन्ध लगाएका छन्। चिसो र वर्षाका कारण सेन्ट पिटर स्क्वायरमा हुने पोपको आशीर्वाद कार्यक्रममा समेत श्रद्धालुहरूको उपस्थिति न्यून रह्यो। बेलायतको उत्तरी भागमा तापक्रम माइनस १२.५ डिग्री सेल्सियससम्म झरेको छ। स्कटल्याण्डमा थप हिमपातको पूर्वानुमान गरिएपछि सांसद एन्ड्र्यु बोवीले राहत र आपूर्तिका लागि सेना परिचालन गर्न माग गरेका छन्।
बोस्निया, सर्बिया र आसपासका देशहरूमा भारी हिमपात र वर्षाले नदीहरू उर्लिएका छन् भने विद्युत् र पानीको आपूर्तिमा समस्या आएको छ। सारायेभोमा रुखको हाँगा खस्दा एक महिलाको ज्यान गएको छ। सर्बियाका केही नगरपालिकाहरूमा आपतकालीन अवस्था घोषणा गरिएको छ। एड्रियाटिक तटमा तीव्र हावा र समुद्री आँधीले तटीय संरचनाहरूमा क्षति पुर्याएको छ। समग्रमा युरोपभरि फैलिएको यो खराब मौसमले पूर्वाधार र जनजीवनमा अर्बौँको क्षति पुर्याउने अनुमान गरिएको छ।