काठमाडौँ। वीरगञ्जमा उत्पन्न विवाद र तनावपूर्ण स्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय पर्साले आज बिहान ८:०० बजेदेखि दिउँसो १:०० बजेसम्मका लागि कर्फ्यू आदेश थप गरेको छ।
यसअघि सोमबार बेलुका ६:०० बजेदेखि मंगलबार बिहानसम्मका लागि जारी गरिएको कर्फ्यूलाई प्रशासनले आज दिउँसोसम्म लम्ब्याएको हो।
पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) भोला दाहालका अनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम वीरगञ्ज महानगरपालिकाका केही निश्चित क्षेत्रलाई चार किल्ला तोकेर कर्फ्यू आदेश जारी गरिएको हो।
प्रशासनले पूर्वमा बसपार्क, पश्चिममा सिर्सियापुल, उत्तरमा पावरहाउस चोक र दक्षिणमा शङ्कराचार्य गेटभित्रको क्षेत्रमा कुनै पनि प्रकारको आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न पूर्ण प्रतिबन्ध लगाएको छ।
प्रजिअ दाहालले कर्फ्यू उल्लंघन गर्ने र शङ्कास्पद रूपमा हिँडडुल गर्नेलाई सुरक्षाकर्मीले देख्नेबित्तिकै गोली हान्न सक्ने गरी सुरक्षा व्यवस्था कडा पारिएको जानकारी दिए।
उनले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्किन र निस्कनै परे नजिकको सुरक्षाकर्मीसँग समन्वय गरेर मात्र निस्कन सर्वसाधारणलाई अनुरोध गरे। कर्फ्यूको अवधिमा एम्बुलेन्स, दमकल जस्ता अत्यावश्यक सेवाका सवारीसाधन भने निर्वाध रूपमा चल्न पाउने प्रशासनले स्पष्ट पारेको छ। हाल प्रशासनले विवाद समाधानका लागि विभिन्न पक्षहरूसँग छलफल गरिरहेको बताइएको छ।