महान्यायाधिवक्ता भण्डारीले राष्ट्रपति पौडेलसमक्ष पेस गरिन् वार्षिक प्रतिवेदन
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २१ सोमबार
736
Shares
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महान्यायाधिवक्ताको कार्यालयको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पेस गरिएको छ। राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित एक विशेष समारोहका बीच महान्यायाधिवक्ता सबिता भण्डारीले नेपालको संविधानको धारा १५८ को उपधारा (४) बमोजिम सो प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष प्रस्तुत गरेकी हुन्।
सबिता भण्डारी नेपालको इतिहासमै महान्यायाधिवक्ता बन्ने पहिलो महिला हुन्। उनलाई प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले नियुक्त गरेका थिए। प्रतिवेदनमा महान्यायाधिवक्ताको कार्यालय र मातहतका सरकारी वकिल कार्यालयहरूले वर्षभरि सम्पादन गरेका मुद्दा मामिला, सरकारलाई दिएको कानुनी राय-सल्लाह, र हिरासत तथा कारागारको अनुगमन सम्बन्धी विस्तृत विवरणहरू समावेश गरिएका छन्।
महान्यायाधिवक्ता भण्डारीले प्रतिवेदन पेस गर्दै फौजदारी न्याय प्रशासनको सुधार, सरकारी वकिलहरूको क्षमता विकास र फैसला कार्यान्वयनको अवस्थाबारे राष्ट्रपतिलाई जानकारी गराएकी थिइन्। राष्ट्रपति पौडेलले प्रतिवेदन बुझ्दै कानुनी शासनको पालना र न्याय सम्पादनमा सरकारी वकिलहरूको भूमिका महत्त्वपूर्ण हुने चर्चा गर्नुभएको थियो। संविधान अनुसार राष्ट्रपतिले यो प्रतिवेदन प्रधानमन्त्रीमार्फत सङ्घीय संसद्मा छलफलका लागि पठाउने व्यवस्था रहेको छ।