arrow

जङ्गली हात्तीको बथान गाउँमा पसेपछि त्रास

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २० आइतबार
elephant-jhapa.jpg

कञ्चनपुर। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट निस्किएको जङ्गली हात्तीको बथानले आइतबार कञ्चनपुरको बेलडाँडी गाउँपालिका-५ इमलियाका गाउँमा पसेर घर तथा अन्नबालीमा क्षति पुर्‍याएको छ ।

जङ्गली हात्तीले बस्तीमा प्रवेश गरी घरभित्र राखिएको अन्नपात तथा खेतबारीमा लगाइएको बालीमा क्षति पुर्‍याएको हो ।

घटनामा कुनै मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहराले बताए ।

स्थानीयवासी, नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले हात्तीलाई धपाएर पुनः निकुञ्जतर्फ फर्काइएको उनले जानकारी दिए।

प्रहरी नायब उपरीक्षक बोहराका अनुसार स्थानीय कमल गिरीको काठ र माटोले बनेको दुई कोठे कच्ची घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने निजको करिब पाँच कठ्ठा जमिनमा लगाइएको उखु र पाँच कठ्ठा जमिनमा लगाइएको गहुँ तथा तोरीबालीमा समेत क्षति पुगेको छ । घर भत्किएपछि चार जनाको परिवार अहिले भाइको घरमा बसोबास गरिरहेका उनले बताए ।

त्यस्तै, सोही स्थानका नेपाली गिरीको काठ र माटोले बनेको दुई कोठे कच्ची घरको एकतर्फको पर्खाल भत्काइ घरभित्र राखिएको चामल, धान, गहुँ र पिठो खाएर क्षति पुर्‍याएको छ ।

यसैगरी बिरजनी गिरीको काठ र माटोले बनेको एक कोठे कच्ची भान्सा घर भत्काई पूर्ण रूपमा नष्ट गरेको प्रहरीले जनाएको छ ।

स्थानीयवासीले जङ्गली जनावरको बारम्बार हुने प्रवेशका कारण असुरक्षित महसुस भइरहेको गुनासो गरेका छन् भने सम्बन्धित निकायसँग क्षतिपूर्तिको माग गरेका छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ