arrow

रसुवागढी नाका सञ्चालनमा आएसँगै विद्युतीय गाडीदेखि स्याउ र लसुनसम्मको आयात

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २० आइतबार
rasuwagadinakas.jpeg

रसुवा । चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढी पुनः सञ्चालनमा आएसँगै विद्युतीय सवारीसाधनको आयातले तीव्रता पाएको छ। सीमा सुरक्षा पोष्ट रसुवागढीका अनुसार शनिबार मात्रै १८ वटा विद्युतीय सवारीसाधन अर्थात् इभी माइक्रो नेपाल भित्रिएका छन्।

चालु आर्थिक वर्षमा यस नाकाबाट पहिलोपटक विद्युतीय सवारीसाधन आयात भएका हुन् जुन अहिले टिमुरेस्थित पार्किङ क्षेत्रमा राखिएका छन्। भन्सार कार्यालयले यी सवारीसाधनको राजस्व दाखिला गर्ने प्रक्रिया जारी रहेको जानकारी दिएको छ।

सवारीसाधनका अतिरिक्त शनिबार मात्रै स्याउ, रेडिमेड कपडा, लसुन, सवारीका पार्टपुर्जा, ओखर, इलेक्ट्रिक ब्याट्री र मेडिकल सामग्री बोकेका ३९ वटा मालवाहक कन्टेनरहरू नेपाल भित्रिएका छन्। गत बिहीबारदेखि नाका पुनः सञ्चालन भएयता शनिबारसम्म कुल ९६ वटा कन्टेनरबाट विभिन्न मालसामान नेपाल भित्रिसकेको छ। भन्सार कार्यालयका प्रवक्ता ठाकुर गौतमका अनुसार रेडिमेड सामग्रीहरूको हकमा आजदेखि जाँचपास प्रक्रिया सुरु हुनेछ।

भन्सार कार्यालयले शीघ्र बिग्रने वस्तुहरू जस्तै स्याउ र ओखरलाई प्राथमिकतामा राखेर तत्काल जाँचपास गर्ने व्यवस्था मिलाएको छ। नाका खुलेको पछिल्लो दुई दिनको छोटो अवधिमै ९० लाख ८७ हजार रुपैयाँ राजस्व दाखिला भइसकेको प्रवक्ता गौतमले बताए। नाका सञ्चालनमा आएपछि सीमा क्षेत्रमा व्यापारिक चहलपहल बढ्नुका साथै राजस्व सङ्कलनमा समेत उत्साह थपिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ