arrow

हिमालका गहना 'हिउँचितुवा' गणना: मुस्ताङ र मनाङमा एकैसाथ बृहत् सर्वेक्षण

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १९ शनिबार
snow-leopard.jpg

मुस्ताङ । हिमाली क्षेत्रको पारिस्थितिकीय प्रणालीको महत्त्वपूर्ण सूचक मानिने दुर्लभ हिउँचितुवाको यकिन सङ्ख्या पत्ता लगाउन मुस्ताङ र मनाङमा एकैसाथ बृहत् सर्वेक्षण सुरु गरिएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गतका लोमान्थाङ, जोमसोम र मनाङ कार्यालयहरूले अत्याधुनिक प्रविधि 'क्यामेरा ट्र्यापिङ' मार्फत यो वैज्ञानिक अध्ययन अघि बढाएका हुन्।

विगतका वर्षहरूमा सीमित क्षेत्रमा मात्र अध्ययन हुने गरेकाले यी दुई जिल्लामा हिउँचितुवाको कुल सङ्ख्याबारे यकिन जानकारी हुन सकेको थिएन। यसवर्ष भने बासस्थानको ठूलो हिस्सा समेट्ने गरी सर्वेक्षणको दायरा फराकिलो बनाइएको छ। हिउँदयाममा उच्च हिमाली भेगमा हिउँ पर्ने र घाँसको अभावले हिउँचितुवाका आहारा प्रजातिहरू (जस्तै: झारल, नाउर) तल्लो भेगमा झर्ने हुँदा यो समय सर्वेक्षणका लागि सबैभन्दा उपयुक्त मानिन्छ।

एक्याप लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलका अनुसार मुस्ताङका विभिन्न १६१ ग्रीडमध्ये चार पालिकाका १३० भन्दा बढी स्थानमा क्यामेरा जडान गरिँदै छ। विशेष गरी माथिल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा मात्रै ९९ वटा क्यामेरा राख्ने योजना छ। यसैगरी, एक्याप जोमसोमले डोल्पासँगको सीमावर्ती क्षेत्र साङ्ता तथा मार्फा, चिमाङ र ठिनी जस्ता उच्च लेकहरूमा क्यामेरा जडान गरिसकेको छ।

मनाङमा भने अगस्ट महिनादेखि नै सर्वेक्षणको काम सुरु भइसकेको छ। एक्याप मनाङका प्रमुख ढकबहादुर भुजेलका अनुसार मनाङका चारवटै पालिकामा गरी १२९ वटा क्यामेरा जडान गरिएको छ। जसमध्ये १०७ वटा हिउँचितुवाका लागि र २२ वटा क्यामेरा हिमाली ब्वाँसोको अध्ययनका लागि छुट्याइएको छ। हाल जडान गरिएका क्यामेराहरूको नियमित अनुगमन र निगरानी भइरहेको छ।

यो सर्वेक्षणका लागि एक्यापका प्राविधिकहरूसँगै स्थानीय बासिन्दाहरूलाई पनि परिचालन गरिएको छ। फिल्डमा राखिएका यी क्यामेराहरू करिब छ महिनासम्म त्यहीँ रहनेछन्। त्यसपछि ती क्यामेराहरूबाट प्राप्त फोटो तथा 'डेटा' सङ्कलन गरी विस्तृत विश्लेषण गरिनेछ, जसले मुस्ताङ र मनाङमा हिउँचितुवाको वास्तविक अवस्था र उनीहरूको आहारा प्रजातिको उपलब्धताको चित्र स्पष्ट पार्नेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ