arrow

मध्यरातमा थर्कियो भेनेजुएला; ट्रम्पको दबाबपछि अमेरिकी सेनाको 'गम्भीर' आक्रमण

काराकासमा भीषण विस्फोटपछि देशव्यापी संकटकाल घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १९ शनिबार
venezuela-conflict.jpg

काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एक महिना लामो दबाबपूर्ण अभियानपछि भेनेजुएलाको राजधानी काराकासमा शनिबार राति भीषण सैन्य आक्रमण भएको छ। भेनेजुएला सरकारले संयुक्त राज्य अमेरिकाले आफ्नो भूभाग र जनता विरुद्ध "गम्भीर सैन्य आक्रमण" गरेको भन्दै अन्तर्राष्ट्रिय समुदायसमक्ष कडा निन्दा गरेको छ।

शनिबार मध्यरात २:०० बजेदेखि काराकासको आकाशमा लडाकु विमानहरूको आवाजसँगै शृङ्खलाबद्ध विस्फोटहरू सुरु भएका थिए। एएफपीका अनुसार राजधानीको उत्तरमा रहेको ला गुइरा, जहाँ देशको मुख्य विमानस्थल र बन्दरगाह अवस्थित छ, त्यहाँ पनि ठूला विस्फोटका आवाजहरू सुनिएका छन्।

प्रत्यक्षदर्शी र अधिकारीहरूका अनुसार सहरका विभिन्न भागमा अहिले पनि मेसिन गन र गोली चलेका आवाजहरू सुनिँदैछन्। आक्रमणका कारण राजधानीका धेरै क्षेत्रमा विद्युत् सेवा पूर्ण रूपमा ठप्प भएको छ। अमेरिकी सञ्चारमाध्यम फक्स न्युज र सीबीएस न्युजले पनि अमेरिकाले क्यारिबियन देशमा सैन्य कारबाही गरिरहेको पुष्टि गरेका छन्, यद्यपि ह्वाइट हाउस र पेन्टागनले यसबारे आधिकारिक टिप्पणी गर्न बाँकी छ।

 आक्रमण लगत्तै वामपन्थी राष्ट्रपति निकोलस मादुरोले मुलुकमा आपतकालघोषणा गरेका छन्। उनले यसलाई सार्वभौमसत्तामाथिको नाङ्गो हस्तक्षेप भन्दै जनतालाई प्रतिरोधका लागि तयार रहन आह्वान गरे।

छिमेकी देश कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले यस आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गर्दै संयुक्त राष्ट्र सङ्घको आपतकालीन बैठक बोलाएका छन्। उनले सामाजिक सञ्जाल 'एक्स' मार्फत भेनेजुएलामा भइरहेको आक्रमणबारे विश्वलाई सचेत गराएका छन्।

ट्रम्प प्रशासनले लामो समयदेखि मादुरोलाई लागुऔषध ओसारपसारको नेतृत्व गरेको आरोप लगाउँदै आएको छ। सोमबार मात्रै ट्रम्पले भेनेजुएलाका कथित लागुऔषध डुङ्गाहरू नष्ट गर्ने धम्की दिएका थिए। वासिङ्टनले पछिल्लो समय भेनेजुएलाको हवाई क्षेत्र अनौपचारिक रूपमा बन्द गर्नुका साथै तेल बोकेका ट्याङ्करहरू जफत गर्न आदेश दिएको थियो।

सेप्टेम्बरदेखि क्यारेबियन र प्रशान्त महासागरमा भएका अमेरिकी आक्रमणहरूमा १०७ जनाको मृत्यु भइसकेको अमेरिकी सेनाको तथ्याङ्क छ। मादुरोले भने यी सबै आरोपहरूलाई अस्वीकार गर्दै वासिङ्टनले आफूलाई सत्ताच्युत गर्न र तेल स्रोतमा कब्जा जमाउन खोजेको दाबी गर्दै आएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ