काठमाडौँ । जेन-जीका माग अलपत्रै छाडेर चुनावी रट घातक हुने जेन-जी युवाहरूले ठहर गरेका छन् । शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी सरकारले आफूहरूका भावनालाई कुल्चे सह्य नहुने चेतावनीसमेत दिएका छन् ।
जेन-जी वीरेन्द्र शाहीले भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका मागहरूबारे सरकार बेखबरजस्तै बन्नु दुर्भाग्य भएको बताएका छन् ।
दिनदिनै नौजवान युवाहरू विदेशिनु, देशको आर्थिक अवस्था जरजर बन्नुको मुख्य कारक पूराना दलहरू भएको र उनीहरूको विकल्पमा नयाँ शक्ति खडा गर्नुपर्ने आवश्यकता रहेको बताए ।
युवाहरूले स्वदेशमै भविष्य खोज्ने अवस्था नभएको बताउँदै शाहीले भने, ‘किन हाम्रो श्रम विदेश जान्छ, किन हाम्रो मष्तिस्क स्वदेशमा थामिँदैन यस किसिमको गम्भीर प्रश्नको जवाफ कसले दिन्छ ?’
इन्द्र शाहले जेन-जीमाथि बरबर दमन गर्ने पुरानो सरकार प्रमुख खुलेआम हिँडेको भन्दै आक्रोश व्यक्त गरे ।
‘केपी ओली र रमेश लेखकहरू किन शानपूर्वक बोलिरहेका छन्, के हाम्रा साथीहरूको बलिदान यसैका लागि थियो’ शाहले प्रश्न गरे ।
प्रकाश सञ्ज्यालले वर्तमान सुशीला कार्की नेतृत्वको सरकारले जेन-जी मर्म र भावनालाई लत्याउँदै विदेशी योजनामा अघि बढेको आरोप लगाए ।
नयाँ भन्नेहरूले पनि जेन-जीको त्याग तपस्या र बलिदानको अवमूल्यन गरेको आरोप लगाए ।
सञ्ज्यालले नयाँ भनिएकाहरूले पनि सामाजिक सञ्जालमार्फत भाइरल भएकै भरमा तथा आफन्तलाई समानुपातिकमा सूचिमा राखेकोप्रति आपत्ति जनाए ।
कार्यक्रममा जेन-जीहरू निराजन सञ्ज्याल र अनिश श्रेष्ठले सहिद परिवार तथा घाइतेहरूको माग संबोधन गर्न आग्रह गरे ।