arrow

त्रियासी प्रतिशत सकियो भूमिगत विद्युतीकरण

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १८ शुक्रबार
Pokhara tar undergraund.jpg

चितवन । भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम ८३ प्रतिशत सम्पन्न भएको छ । मुख्य राजमार्गका केही स्थानमा बाहेक अन्य क्षेत्रमा भूमिगतको काम सम्पन्न भएको हो ।

नेपाल विद्युत् प्राधिकरणको पोखरा-भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाका प्रमुख इञ्जिनियर आनन्द सुवेदीका अनुसार महानगरपालिको मुख्य सहरी क्षेत्रअन्तर्गत हाकिमचोक, केन्द्रीय बस टर्मिनल, सहिदचोकदेखि वीरेन्द्र क्याम्पससम्म भूमिगत विद्युतीकरणको लाइन जडानको काम बाँकी रहेको छ ।

यहाँको काम ८३ प्रतिशत सकिएको जनाउँदै उनले पाइप जडान, डिभाइस जडान, फाउन्डेसन निर्माण लगायतका काम सकिएको बताए । बाँकी रहेको भूमिगतको कामसँगै घरमा जोड्ने काम पनि भइरहेको उनले जानकारी दिए । फागुन मसान्तसम्ममा काम सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

केन्द्रीय बस टर्मिनलदेखि गोन्द्राङसम्मको सडकमा पहिला ३३ केभिए लाइन मात्रै भूमिगत गर्ने भनिएको भए पनि अहिले थप गरी ११ केभिए र ४०० भोल्टको लाइनलाई भूमिगत गरिने उनको भनाइ छ ।

पछिल्लो सम्झौताअनुसार महानगरपालिकाभित्र चनौली लाइन जडानका लागि भरतपुर महानगरको मुख्य सहरी क्षेत्रमा भूमिगतमार्फत काम गर्दै लगिएको छ ।

महानगर भित्र विद्युतीय तार भूमिगत गर्नका लागि एक अर्ब ४० करोड लागत लाग्ने छ । सुरुआती समयमा एक अर्ब ३० करोड बजेट भरतपुरलाई विनियोजन गरिएको थियो । काम थपिएसँगै १० करोड थप गरिएको हो ।

निर्माणको ठेक्का भारतको टाटा प्रोजेक्ट लिमिटेडले पाएको थियो । सन् २०२१ अक्टोबरदेखि ठेक्का सम्झौता गरी काम सुरु गरिएको हो ।

ठेक्का सम्झौताअनुसार पहिलो चरणको समय सन् २०२४ को जनावरी २० मा सकिएसँगै पटक-पटक म्याद थप गरेर काम अघि बढाइएको हो । एसियाली विकास बैङ्कको सहयोगमा प्राधिकरणले यो आयोजना अघि बढाएको हो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ