arrow

रोबर्टो कार्लोसको मुटुको शल्यक्रिया

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १७ बिहिबार
roberto-carlos-btazil.jpg

काठमाडौँ । ब्राजिल फुटबलका महान खेलाडी रोबर्टो कार्लोसको आपतकालीन मुटुको शल्यक्रिया गरिएको छ । ५२ वर्षीय पूर्व लेफ्ट ब्याक कार्लोसलाई फुटबल इतिहासकै उत्कृष्ट डिफेन्डरमध्ये एक मानिन्छ ।

उनी २०२६ फिफा विश्वकप ड्रअमा सहभागितासहित व्यस्त कार्यक्रम सकेर ब्राजिल फर्किएपछि अस्पताल भर्ना भएका थिए । शुरूमा उनको खुट्टामा रगत जमेको आशंकामा जाँच गराइएको थियो ।

तर, पूर्ण शरीरको एमआरआई परीक्षणका क्रममा मुटुसम्बन्धी समस्या पत्ता लागेपछि तत्काल शल्यक्रिया गर्नुपरेको थियो ।

सामान्यतया करिब ४० मिनेटमा सम्पन्न हुने यो शल्यक्रिया जटिलताका कारण झण्डै तीन घण्टा लागेको थियो, जसक्रममा मुटुमा ट्यूबसमेत जडान गरिएको थियो ।

ब्राजिलको सन् २००२ फिफा विश्वकप विजेता टोलीका महत्वपूर्ण सदस्य तथा एक सय २० भन्दा बढी अन्तर्राष्ट्रिय खेल खेलेका कार्लोस शल्यक्रियापछि स्वस्थ हुँदै गएको बताइएको छ ।

उनलाई थप ४८ घण्टा अस्पतालमै निगरानीमा राखिनेछ । अहिले आफ्नो स्वास्थ्य ठीक रहेको उनले बताएका छन् ।

रोबर्टो कार्लोसले सन् १९९६ देखि २००७ सम्म रियल म्याड्रिडमा खेलेको खेलका लागि विशेष रूपमा चिनिन्छन् ।

उक्त अवधिमा उनले तीन सय ७० खेल खेलेका थिए र क्लबका सबैभन्दा महान फुल ब्याकमध्ये एकको रूपमा स्थापित भएका थिए । रियल म्याड्रिडसँग उनले तीन पटक युइएफए च्याम्पियन्स लिग र चार पटक लालिगाको उपाधि जितेका थिए ।

रियल म्याड्रिडबाहेक उनले ब्राजिलका युनियाओ साओ जोआओ, पाल्मेइरास र कोरिन्थियन्स क्लब तथा इटालीको प्रतिष्ठित क्लब इन्टर मिलानबाट पनि व्यावसायिक फुटबल खेलेका थिए ।

साथै, उनले सन् २०१५-१६ मा तत्कालीन भारतीय सुपर लिग (आईएसएल) टोली दिल्ली डायनामोजबाट छोटो समय खेल्दै पछि टोलीको व्यवस्थापकीय भूमिकासमेत सम्हालेका थिए ।

आफ्नो शानदार करियरमा रोबर्टो कार्लोसले फिफा विश्वकप, युइएफए च्याम्पियन्स लिग, लालिगा र कोपा अमेरिकाजस्ता शीर्ष फुटबल उपाधिहरू जित्दै आफ्नो पुस्ताका सबैभन्दा प्रभावशाली फुटबलरमध्ये एकको रूपमा पहिचान बनाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ