ढाका । बंगलादेशको अन्तरिम सरकारले पूर्वप्रधानमन्त्री खालिदा जियाको निधनको शोकमा बुधबारदेखि शुक्रबारसम्म तीन दिने राजकीय शोकको घोषणा गरेको छ ।
बंगलादेश नेसनालिस्ट पार्टी (बीएनपी) की अध्यक्षसमेत रहेकी देशकै पहिलो महिला प्रधानमन्त्री भएकी ८० वर्षीया जियाको मंगलवार बिहान ढाकामा उपचारका क्रममा निधन भएको हो ।
उनी लामो समयदेखि मुटु र फोक्सो सम्बन्धी विभिन्न स्वास्थ्य समस्याबाट पीडित थिइन् । सन् १९९१ मा देशको पहिलो महिला प्रधानमन्त्री बनेकी जिया सन् २००१ मा पुनः प्रधानमन्त्री निर्वाचित भएकी थिइन् ।
भ्रष्टाचारको अभियोगमा सन् २०१८ मा कारागार चलान गरिएकी उनलाई सन् २०२४ अगस्टमा राष्ट्रपतिको कार्यालयले रिहा गरेको थियो ।