काठमाडौँ । परराष्ट्रमन्त्री बालानन्द शर्मा बङ्गलादेशका नवनिर्वाचित प्रधानमन्त्रीको शपथग्रहण समारोहमा सहभागी हुन आज ढाकातर्फ प्रस्थान गर्दैछन्। गत बिहीबार सम्पन्न निर्वाचनबाट बहुमत प्राप्त गरेको बङ्गलादेश नेश्नलिस्ट पार्टी (बिएनपी) ले त्यहाँ नयाँ सरकार बनाउन लागेको हो। उक्त पार्टीको नेतृत्व तारिक रहमानले गरिरहेका छन्।
मङ्गलबार हुने विशेष शपथग्रहण समारोहमा सहभागी हुन मन्त्री शर्मा आजै त्यसतर्फ जान लागेको उनको सचिवालयले जानकारी दिएको छ। यो भ्रमणले नेपाल र बङ्गलादेशबीचको द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउनुका साथै आपसी सहयोगका क्षेत्रलाई थप प्रगाढ बनाउने विश्वास परराष्ट्र मन्त्रालयले लिएको छ।
भ्रमण टोलीमा परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरूको समेत सहभागिता रहनेछ। उच्चस्तरीय समारोहमा सहभागी भएर मन्त्री शर्मा यही फागुन ७ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।