सरकारले जेन-जीहरूलाई धोका दियोः उपेन्द्र यादव [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १४ सोमबार
849
Shares
धनुषा । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचनअघि नै संविधान संशोधन हुनुपर्ने जेन-जीको मागलाई सरकारले बेवास्ता गरेको बताएका छन् ।
जनकपुरधाममा सोमबार आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाए ।
उनले पहिला संविधान संशोधन र त्यसपछि मात्रै निर्वाचन गर्नुपर्ने युवाहरूको माग रहेको उल्लेख गरे ।
उनले सरकारले युवाहरूसँग केही दिनअघि मात्रै सम्झौता गरेको तर कुनै पनि कुरा अघि नबढाएको भन्दै असन्तुष्टि व्यक्त गरे ।
उनले आन्दोलनकारी युवाको साथमा सरकारले धोका दिएको बताए। लोकतन्त्रमा निर्वाचन महत्वपूर्ण रहेको बताउँदै आफूहरू निर्वाचनमा जान तयार रहेको बताए ।
उनले भने, ‘चुनाव भन्दा पहिला संविधान संशोधन हुनुपर्छ । जे माग युवा पुस्ताले राखेका छन्, युवा पुस्तासँग सरकारले संविधान संशोधनलगायतका विषयमा सम्झौता गरेको छ । त्यो अलिकति पनि अघि बढेको छैन । आन्दोलनकारी युवाको साथमा धोका भएको छ । युवाहरूलाई मजाक बनाइएको छ । तर पनि लोकतन्त्रमा निर्वाचन महत्पूर्ण हुन्छ । चुनाव लड्न तयार छौँ । हामी जनताको अधिकारका लागि लड्न तयार छौँ ।’
अध्यक्ष यादवले जनता समाजवादी पार्टी, नेपाल निर्वाचनमा जाने बताए। उनले मधेसका जनतालाई अधिकार सम्पन्न बनाउन र शिक्षा, स्वास्थ्यको ग्यारेन्टीका निर्वाचन लड्न लागेको बताए ।