उम्मेदवारलाई साढे तीन लाखको 'खर्च सिलिङ', यस्तो छ शीर्षकगत विवरण
बैङ्क खाता अनिवार्य, शीर्षकअनुसार मात्र खर्च गर्न पाइने
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १४ सोमबार
910
Shares
काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि खर्चको हद तोकेको छ। उम्मेदवारले फजुल खर्च नगरून् र निर्वाचन पारदर्शी होस् भन्ने उद्देश्यले आयोगले प्रति उम्मेदवार साढे ३ लाख रुपैयाँको सिलिङ तोकेको हो। उम्मेदवारले निर्वाचन प्रयोजनका लागि बैङ्क वा वित्तीय संस्थामा छुट्टै खाता खोल्नुपर्ने र खर्च गर्ने जिम्मेवार पदाधिकारी तोक्नुपर्ने व्यवस्था गरिएको छ।
खर्च गर्न पाइने मुख्य शीर्षकहरू: आयोगले तोकेको सीमाअनुसार उम्मेदवारले सवारी साधनमा ७० हजार, गोष्ठी तथा अन्तरक्रियामा १ लाख र कार्यालय सञ्चालनमा ७० हजार रुपैयाँसम्म खर्च गर्न पाउनेछन्। त्यसैगरी, प्रतिनिधि परिचालन र विविध शीर्षकमा ३०–३० हजार, प्रचारप्रसार सामग्री र छापा एवं विद्युतीय माध्यममा १४ हजार ५०० का दरले खर्च गर्न पाइनेछ। मतदाता नामावली खरिदका लागि १ हजार, सवारी इन्धनका लागि १० हजार र ढुवानीका लागि १० हजार रुपैयाँको सीमा तोकिएको छ।
निर्वाचन सम्पन्न भएपछि उम्मेदवारले आफ्नो खर्चको विवरण सार्वजनिक गरी राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ अनुसार आयोगमा पेस गर्नुपर्नेछ। यदि तोकिएको सीमाभन्दा बढी खर्च गरेको वा विवरण नबुझाएको पाइएमा कानुनी कारबाही हुने आयोगले सचेत गराएको छ।