काठमाडौँ। कैलाली र कञ्चनपुरसहितका तराईका जिल्लाहरू बाक्लो कुहिरो र शीतलहरले ढपक्कै ढाकिएका छन्। दिनभरि लाग्ने हुस्सुका कारण घाम झुल्किन नपाउँदा कठ्याङ्ग्रिने जाडो बढेको छ। चिसोबाट सर्वसाधारणलाई जोगाउन धनगढी उपमहानगरपालिका, डिभिजन वन कार्यालय र सशस्त्र प्रहरी बलले बजारका मुख्य चोकहरूमा निःशुल्क दाउरा वितरण सुरु गरेका छन्।
जल तथा मौसम विज्ञान विभागको अत्तरियास्थित फिल्ड कार्यालयका अनुसार धनगढीको अधिकतम तापक्रम १३.३ डिग्री र न्यूनतम तापक्रम ११ डिग्री सेल्सियसमा झरेको छ। अधिकतम र न्यूनतम तापक्रमबीचको अन्तर निकै कम भएकाले जाडोको महसुस बढी भएको कार्यालय प्रमुख सञ्जय साहले जानकारी दिए। अझै केही दिन यो शीतलहर कायम रहने मौसमविद्को पूर्वानुमान छ।
शीतलहरको प्रभाव सर्वसाधारणको स्वास्थ्यमा मात्र नभई कृषि बालीमा पनि देखिएको छ। अत्यधिक चिसो र शीतका कारण आलु तथा तोरी जस्ता हिउँदे बालीमा 'डढुवा' रोगको प्रकोप देखिएपछि किसानहरू चिन्तित बनेका छन्। कृषि प्राविधिकहरूका अनुसार रातिको तापक्रम घट्ने र आद्रता बढ्ने हुँदा ढुसी सक्रिय भई बालीमा क्षति पुग्ने गर्दछ। बाली जोगाउन किसानहरूले अहिले धमाधम ढुसीनाशक विषादी छर्किरहेका छन्।