arrow

मानव बेचबिखन तथा ओसारपसारको जोखिमयुक्त क्षेत्र बन्दै कञ्चनपुर

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १३ आइतबार
gaddha-chauki-sadak.jpg
फाइल तस्बिर

कञ्चनपुर। भारतसँग जोडिएको खुला सीमा, प्रविधिको बढ्दो दुरुपयोग र आफन्तकै संलग्नताले कञ्चनपुरमा मानव बेचबिखन तथा ओसारपसारको जोखिमयुक्त क्षेत्र बन्दै गएको छ ।

मुख्य नाका गड्डाचौकीमात्र नभई वैकल्पिक तथा अवैध मार्गको प्रयोग बढ्दै जाँदा बेचबिखन नियन्त्रणमा चुनौती थपिएको छ ।

मानव बेचबिखनको स्वरूप समयक्रमसँगै बदलिँदै गएको र पछिल्लो समय वैदेशिक रोजगारीको प्रलोभन, नक्कली विवाह, पर्यटन तथा अनलाइनमार्फत हुने ‘साइबर ट्राफिकिङ’का घटना बढ्दै गएको माइती नेपालका संयोजक महेश्वरी भट्टले बताए ।

गरिबी, बेरोजगारी, सीपको कमी र सामाजिक सञ्जालको दुरुपयोगसँगै आफन्त र चिनजानकै व्यक्तिको संलग्नता बेचबिखनको मुख्य चुनौती बन्दै गएको छ ।

संयोजक भट्टका अनुसार खुला सीमा, प्रविधिमैत्री निगरानीको कमी, प्रमाण सङ्कलनमा कठिनाइ र मुद्दा प्रक्रियामा ढिलाइ मानव बेचबिखन नियन्त्रणका प्रमुख चुनौतीका रूपमा छन् ।

“पीडित र परिवारकै मौनता तथा उजुरी गर्न डराउने प्रवृत्तिले मानव तस्करहरूको मनोबल बढेको छ”, उनले भनिन्, “पछिल्लो समय मानव तस्करहरूले बाइक र स्थानीय ट्याक्सीजस्ता निजी सवारीसाधन प्रयोग गरी वैकल्पिक मार्गबाट सीमा पार गराउने नयाँ शैली अपनाएका छन् ।”

उनका अनुसार बेचबिखनमा परेकालाई यौन शोषण, बालश्रम, जबर्जस्ती आपराधिक गतिविधि तथा अङ्ग प्रत्यारोपणसम्म प्रयोग गर्ने गरिएको पाइएको छ । जसमा अन्तरराष्ट्रिय अपराध सञ्जालको समेत संलग्नता देखिने गरेको छ ।

पछिल्लो एक वर्षको अवधिमा पश्चिमी सीमानाका गड्डाचौकी तथा आसपासका क्षेत्रबाट मानव बेचबिखनको जोखिममा परेका २०९ जना महिला तथा बालबालिकालाई सीमाबाटै उद्धार (रोकथाम) गरेको छ ।

संस्थाको वार्षिक कार्यप्रगति प्रतिवेदनअनुसार उद्धार गरिएकामध्ये ९० जना बालबालिका र एक सय १९ जना महिला छन् ।

उद्धार गरिएका स्थानअनुसार गड्डाचौकी सीमानाकाबाट ८९ जना, महेन्द्रनगर बसपार्क तथा अन्य क्षेत्रबाट ६४, महाकाली चारलेन पुल क्षेत्रबाट ३१ जना र झोलुङ्गे पुल क्षेत्रबाट २९ जना रहेका छन् ।

उद्धार गरिएकामध्ये एक सय ८२ जना सुदूरपश्चिम प्रदेशकै नागरिक छन् । जिल्लागत रूपमा कञ्चनपुरका एक सय, कैलालीका ३२, बैतडीका १४, बझाङका १० र डोटीका आठ जना छन् ।

पछिल्लो तीन वर्षमा भारतका विभिन्न सहरबाट ४९ जना महिला तथा बालबालिकाको सकुशल उद्धार गरिएको छ । सन् २०२३ मा २५, सन् २०२४ मा १४ र सन् २०२५ मा १० जनाको उद्धार भएको माइती नेपालले जनाएको छ ।

पछिल्लो एक वर्षमा मात्रै बिहार, चण्डिगढ, मुम्बई, दिल्ली, हैदरावादलगायत सहरबाट आठ बालिका र दुई महिलाको उद्धार गरिएको हो । यसै अवधिमा माइती नेपालमा एक सय ८९ ओटा खोजतलासका निवेदन दर्ता भएका छन् ।

तीमध्ये ८१ जनालाई फेला पारेर परिवारको जिम्मा लगाइएको छ । खोजतलासका लागि निवेदन परेकामध्ये सुदूरपश्चिम प्रदेशकै नागरिकको सङ्ख्या एक सय ६३ छ ।

मानव बेचबिखन नियन्त्रणका लागि सीमाक्षेत्रमा १२ हजार आठ सय ५८ सवारीसाधन जाँच गरेको छ । यस क्रममा ४४ हजार पाँच सय ८१ जनालाई सुरक्षित बसाइँसराइ तथा मानव बेचबिखनविरुद्ध परामर्श दिइएको छ ।

साथै दुई सय २७ जनालाई मनोसामाजिक परामर्श प्रदान गरिएको छभने दुई सय १७ जनाको पारिवारिक पुनर्मिलन गराइएको छ । ३३ जनालाई सीमाबाटै परामर्श दिएर घर फर्काइएको छ ।

समुदायस्तरमा घरदैलो कार्यक्रम, विद्यालयमा सचेतनामूलक गतिविधि र यातायातकर्मीहरूसँग विशेष अन्तरक्रिया कार्यक्रम सञ्चालन भइरहेको माइती नेपालका संयोजक भट्टले बताए ।

प्रहरी प्रशासनसँगको समन्वयमा जबर्जस्ती करणीसम्बन्धी चार ओटा र मानव बेचबिखनसम्बन्धी एउटा मुद्दा दर्ता भई कानूनी प्रक्रियामा छन्।

खुला सीमा र बदलिँदो प्रविधिसँगै मानव बेचबिखनको जोखिम बढिरहेकाले सीमास्तरको निगरानी, समुदाय सचेतना र बहुपक्षीय सहकार्यलाई थप प्रभावकारी बनाउन आवश्यक रहेको संयोजक भट्टको भनाइ छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ