arrow

समानुपातिक उम्मेदवार छान्न दलहरूलाई चटारो: आज र भोलि आयोगमा बन्द सूची पेस गर्नुपर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १३ आइतबार
election-nirbachan-nepal-2082-hamrakura.jpg

काठमाडौँ । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची बुझाउने सम्पूर्ण तयारी पूरा गरेको छ। 

आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार राजनीतिक दलहरूले आज पुस १३ र भोलि १४ गतेभित्र आफ्ना उम्मेदवारहरूको बन्द सूची आयोगमा पेस गर्नुपर्नेछ। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार समानुपातिकतर्फ भाग लिन दर्ता भएका १०० वटा राजनीतिक दलहरूले मात्र यो सूची बुझाउन पाउनेछन्।

दलहरूले बुझाएको बन्द सूचीमाथि पुस १५ देखि २० गतेसम्म आयोगले विस्तृत छानबिन गर्नेछ। छानबिनका क्रममा कुनै त्रुटि देखिएमा वा मापदण्ड नपुगेमा पुस २१ देखि २७ गतेसम्म दलहरूलाई सूची सच्याउने वा मिलाउने समय दिइनेछ। 

दलहरूले सच्याएर पठाएको सूची पुनः जाँच गरी माघ ४ गते प्रारम्भिक बन्द सूची प्रकाशन गरिने आयोगको तयारी छ। सबै प्रक्रिया पूरा गरी माघ २० गते मात्र उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरिने प्रवक्ता भट्टराईले जानकारी दिए।

यस पटकको निर्वाचनमा ९३ वटा चुनाव चिह्नमार्फत १०० वटा दलहरू समानुपातिक प्रतिस्पर्धामा उत्रिएका छन्। आयोगले समानुपातिकतर्फको यो प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाउन आवश्यक जनशक्ति र प्रविधिको उचित प्रबन्ध मिलाइएको जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ