कुनै पनि दुर्घटना वा प्राकृतिक विपत्ति भन्ने कुराहरू नआओस् भनेर नआउने त होइनन् तर सतर्कता अपनाउन सकियो भने केही हदसम्म हुनसक्ने सम्भावित क्षतिबाट जोगिन भने सकिन्छ । यहाँ मैले प्राकृतिक विपत्ति भन्दा पनि नेपालको समसामयिक राजनीतिक घटना र दुर्घटनाको विषयमा चर्चा गर्दैछु।नेपालका जिम्मेवार राजनीतिक दलहरू र तिनका नेतृत्वहरूको कार्यशैलीमा अपरिपक्वता,अदूरदर्शीता र गैरजिम्मेवारीपनकै कारण समय समयमा अनेक किसिमका राजनीतिक,सामाजिक, भौतिक, आर्थिक, मानवीय आदिजस्ता थुप्रै खास घटनाहरू दुर्घटनामा परिणत भएका छन् ।
भदौ २३ र २४ को राजनीतिक दुर्घटना हुनु पनि नेकपा एमाले र नेपाली कांग्रेस जस्ता दलहरूको दम्भ,अंहकार र घमण्डले निम्तिएको परिणाम हो।यी दलहरूले जनताका माग, आशा, आक्रोशलाई समयमै सम्बोधन नगरी अवमूल्यन गर्दा देशले ठूलो क्षति बेहोर्नु परेको थियो ।
नेपालमा बहुदलीय प्रजातन्त्रको पुनः प्राप्तिपछि नेतृत्वमा इमान्दारिता र नैतिकतामा नहुँदा देश आज आर्थिक र सामाजिक दृष्टिकोणले अत्यन्तै जटिल र कमजोर अवस्थामा आउनु परेको छ । सिद्धान्तका कुरा गर्दा यो वाद र त्यो वाद भन्ने तर व्यावहारिक र कार्यान्वयनको तहमा पुग्दा आफू,परिवार,नाता,बा,दाइ,भाउजू र देवर आदि जस्ता वादलाई प्राथमिकता दिने प्रवृत्तिले देशले सोचे अनुकूल परिवर्तनको गति लिन सकेन ।
संविधानमा देशको सार्वभौम सत्ता जनता छ भनेर लेखेपनि जनताको त्यो अधिकारलाई नेतृत्वले दुरुपयोग गर्यो।जनताको सेवा गर्न भनी राजनीतिमा लागेकाहरू देशका ठूलाठूला भ्रष्टाचारी र मानव तस्कर भएर निस्के। प्रजातन्त्र जति पुरानो हुँदै गयो,देश थप कमजोर हुँदै गयो।पुराना वा पुराना भित्रका नयाँहरू बाहिर जतिसुकै कुर्लेपनि भित्री रुपमा देशप्रति इमान्दार बन्न सकेनन् ।
राज्य सत्तालाई व्यक्तिगत कम्पनी जस्तो बनाई केही सीमित पात्रले भागबण्डामा देशलाई खोक्रो बनाए।देशका सम्पूर्ण संयन्त्रहरू दलीयकरण गरी फुत्ते र निष्क्रिय बनाए।सरकारी कार्यालयहरू दलका कार्यालय बने। न्यायालयदेखि लिएर विश्वविद्यालयसम्ममा दलीयकरण गरियो।
जनताले बारम्बार असन्तोषका आक्रोशहरू अभिव्यक्त गर्दा पनि सम्बन्धित दलहरूले सुन्न नसक्दा आखिर भदौ २३ र २४ मा देशले ठूलो भौतिक र मानवीय क्षति बेहोर्नु पर्यो । राजनीतिक दलहरूले इमान्दारीपूर्वक लोकतान्त्रिक प्रक्रियाबाट देशलाई सञ्चालन गरिदिएको भए जेनजी आन्दोलन/विद्रोह हुने थिएन। राजनीतिमा अनुशासन, इमान्दारिता, धर्म, निष्ठा, नैतिकता, विचार, चिन्तन, चिन्ता, देशप्रेम नभएपछिको पराकाष्ठाको अभिव्यक्ति भदौ २३ र २४ को घटना/दुर्घटना हो भन्न हिच्किचाउनु पर्दैन । यद्यपि भदौ २३ र २४ को घटना वा दुर्घटनालाई न्यायिक आयोगबाट अनुसन्धान गरी विध्वंश गर्नेलाई कानूनी कार्बाही भने गर्नुपर्छ।
भदौ २३ र २४ को घटनालाई यति छिट्टै बिर्सेर नेपाली कांग्रेस र नेकपा(एमाले)जस्ता जिम्मेवार भनिने राजनीतिक दलहरूले खासै महत्त्व नदिई आफ्नो पुरानै ढर्रा देखाउन खोजिरहेका छन् । तत्कालीन सरकारको नेतृत्वकर्ता र उनका सारथीले त्यस दिनको त्यो घटनालाई यति छिट्टै बिर्सिएर खिचडी पकाउन थालेको पनि देखिन्छ।मानवीय संवेदनाको दृष्टिकोणले त्यो दृश्य हेर्न लायकसम्म थिएन ।
के त्यो घटना घटाउनुको पछाडि केवल आपराधिक मनोप्रवृत्ति मात्रै थियो त?किन नेपाली कांग्रेस वा नेकपा(एमाले)ले यस घटनालाई संवेदनशील भएर सोच्न सकेका छैनन्?दलकै कार्यालय र नेताहरूका सम्पत्ति खरानी हुँदासमेत सम्बन्धित धनीहरूमा कुनै किसिमको हतोत्साहित र दुःखित मनोभावना देखिँदैन।यतिबेला नेताहरू यसरी आफ्नो भौतिक सम्पत्तिसमेत क्षति हुँदा हतोत्साहित र संवेदनशील नभएको देख्दा कतै सित्तैको सम्पत्ति आयो अनि गयो अथवा पसिना बगाएर आर्जेको सम्पत्तिको माया लाग्छ र त्यसको महत्त्व हुन्छ,बिना पसिना कमाइएको सम्पत्तिको के को महत्त्व भनेर त होइन भन्ने आशंकाहरू सिर्जित भएका छन्।
भदौ २३ र २४ दर्दनाक र भयावह घटना बिर्सेर शेर बहादुर देउवा र केपी ओली पुन:खासखुस बैठकमा निकै सक्रिय छन्।यो सक्रियता देखिनु पछाडि केही शंकास्पद कुराहरू सिर्जित भएका छन्।भर्खरैको तात्तातो आलो घाउलाई बिर्सेर केपी ओलीका जुन दम्भ र अहंकारयुक्त प्रतिक्रियाहरू आइरहेका छन्,तिनले नवपुस्ताहरू झन आक्रोशित हुँदै गएका छन् ।
दुई तिहाईको सरकारको नेतृत्व गरिरहेका र निकै बलियो भनिएका केपी ओलीले नेपाली जनतालाई अभिभावक विहीन बनाएर भाग्ने अनि अहिले आएर वर्तमान सरकारलाई अनेक भाती गाली गरेर अनि सत्तोसरापेर आफ्नो असक्षमता लुकाउन खोजिरहेका छन्।केपी ओली आफ्नो पार्टीमा जतिसुकै बलिया हुन्,जनताको नजरमा कमजोर र असक्षम पात्रका रुपमा प्रमाणित भएका छन्।सत्ता छोड्नु परेको जलनमा परेका केपी ओलीले शेरबहादुरलाई बोकेर संसद पुनःस्थापनाको रडाको मच्चाएर अर्को राजनीतिक दुर्घटना ननिम्त्याउलान भन्न सकिन्न ।
जब नेतृत्वले देशका बारेमा सोच्दैन र उत्तेजना,आवेग र प्रतिशोधका पछाडि दौडन्छ अनि देशले अनेक दुर्घटना बेहोर्नुपर्छ।नेपाली कांग्रेस र नेकपा(एमाले)ले आफ्ना विगतका कमजोरी र गल्तीलाई जवर्जस्त छोपेर फेरि अर्को दुर्घटना निम्त्याउने प्रयत्न नगरुन् । नेपाली कांग्रेस जतिसुकै बलियो,चोखो र शुद्ध छु भने पनि गत निर्वाचनमा गरिएका गठबन्धन, प्रचण्ड र ओली सरकारको चास्नीमा डुबुल्की मारेका घटनाहरूहरूले गर्दा वैचारिक मान्यता गुमाएको स्पष्टै छ।एमालेले पनि आफू जतिसुकै बलियो छु भनेर भित्तो चिथोरे पनि देशलाई राज्य विहीन बनाएर भागेको घटना तथ्यगत छ।
देश यस्तो तरल भएको अवस्थामा नेपाली कांग्रेस जस्तो पुरानो र परिपक्व भनिने राजनीतिक दलको आजको मान्यता के हो भन्ने नै स्पष्ट छैन।एकथरी महाधिवेशन गराउनु पर्छ भन्दैछन् अर्कोथरी हुँदैहुन्न भन्छन्।एकथरी निर्वाचनका कुरा गर्छन् अर्कोथरी संसद पुनस्थापनाको कुरा गर्छन्।नेपाली कांग्रेसले पुरानो र नयाँ,गुट र उपगुट,विशेष कि नियमित महाधिवेशन भन्दै अनावश्यक रुपमा महिनौं बैठक बसेर खास निकास दिन नसकी जलेको देशलाई झन तमासा नै देखाइरहेको छ ।
नेपाली कांग्रेसमा दाइभाउजूको शासनमा चलेका र चलाएका पुरानाले न छोड्न सक्छन् न नयाँले जुरुक्क आँट गरेर विश्वास नै दिलाउन सक्छन्। बाहिर कोही कसैको फूर्तिफार्ती देखिए पनि वास्तवमा नेपाली कांग्रेस फागुन २१ को निर्वाचनमा होमिन डराएको देखिन्छ। नेपाली कांग्रेसभित्र पुस्तान्तरण र हस्तान्तरणको मुद्दा उठाएर आएका गगनहरूले नेपाली कांग्रेसभित्रको केहीभाइको साङ्लो तोड्न जति प्रयास गरे पनि सफल हुन सकेका छैनन् ।
नेपाली कांग्रेस पुरानो र थोत्रो भारीलाई यथावत नै राखेर अझै हिड्न खोज्यो भने अहिलेको वर्तमान परिवेशसँग प्रतिस्पर्धा गरेर अगाडि जान सक्दैन।नेपाली कांग्रेसभित्रका केहीभाइ भन्नेहरूले अब आफूहरू अभिभावकीय भूमिकामा बसेर नेतृत्व हस्तान्तरण गर्नैपर्छ।नेपाली कांग्रेसका केही पुराना भनिनेहरूले फेरि पनि हामी पुराना हौँ, हामी बिना कांग्रेस चल्न सक्दैन भनेर दम्भ देखाउन खोजे भने नेपाली कांग्रेसको नै अस्तित्व सङ्कटमा परेर इतिहासको पानामा सीमित हुनसक्छ।
अहिले नै बाहिर भनेजस्तै रवि,बालेन र कुलमान एकै ठाउँमा आएर निर्वाचनमा प्रतिस्पर्धा गर्ने हो भने नेपाली कांग्रेस र नेकपा(एमाले)लाई राम्रै धक्का लाग्ने पनि देखिन्छ।रवि,बालेन,कुलमानहरू पनि वैकल्पिक बनेर देशलाई साँच्चै नै निकास दिने हो भने व्यक्तिगत स्वार्थ छोडेर एक हुनुपर्छ।वैकल्पिक र जेनजीसँग प्रतिस्पर्धा गर्नै नै हो भने नेपाली कांग्रेस र एमालेहरू नयाँ बनेर आउनु पर्छ ।
अब त्यही पुरानो सोच र अनुहारबाट प्रतिस्पर्धामा जितिन निकै मुस्किल पर्नेछ। यी नयाँ दलका धक्काबाट जोगिन कांग्रेस र एमालेले गठबन्धन नगराउलान् भन्न पनि सकिन्न । कांग्रेस र एमाले गठबन्धन गरेरै निर्वाचनमा गएभने प्राविधिक रुपमा सिट संख्या केही बढी ल्याउलान् तर जनताका नजरमा अझै अविश्वासिला र सांगठानिक रुपमा थप कमजोर हुनेछन् र फेरि पनि कांग्रेस र एमालेको गठबन्धनबाट देशले निकास त केही पाउन सक्दैन,अर्को दुर्घटना निम्तिन सक्छ। यसैले नेपाली कांग्रेस र एमालेले आफूहरूले मात्र चुनाव जित्ने र देशले हार्ने खेलको लागि चुनावी गठबन्धन गर्ने दुत्सप्रयास नगरून्।
यतिबेला देश कमजोर भएको छ,यस्तो अवस्थामा कसैले तमासा देखाउने होइन।जेनजीहरूले पनि निकै संयमता अपनाउनु पर्ने देखिन्छ।जेनजीहरू तितरबितर भएर,एकअर्कालाई अविश्वास गरेर,सबैले आआफ्ना डम्फू मात्र बजाएर,आक्रोश,उत्तेजना र आवेगमा आएर समस्याको समाधान हुँदैन।लोकतन्त्रमा निषेधको राजनीति वा खल्तीका कानुनले केही गर्दैन ।
अहिलेको वर्तमान सरकार खास रुपमा चुनावी सरकार भएको हुनाले यसबाट धेरै कुराको आशा राखेपनि ती पूरा हुन व्यवहारिक र कानुनी रुपमा निकै कठिन छन्।एउटा जटिल अवस्थामा केवल छ महिनाको लागि बनेको यस सरकारलाई केही गरेन भनेर अनावश्यक रुपमा अस्थिरता सिर्जना गर्नु राम्रो होइन । यद्यपि जनतालाई शान्ति,सुरक्षा र सुशासन दिन सक्दिनँ भन्नका लागि यो सरकारलाई छुट भने छैन।
निर्वाचनकै कुरा गर्दा पनि ८४ को चुनाव ८२ मा गरेर अहिलेको खास समस्याको निराकरण हुन्छ त ? उत्तर सजिलो छ - हुँदैन । त्यसो भए अहिलेका विकल्प के के हुन त ? संसद पुन:स्थापना,सर्वपक्षीय सरकार र ताजा जनादेश।अहिले संसद पुन:स्थापना गरी कांग्रेस वा एमाले जस्ता पुरानै दलका अनुहार देखिनु भनेको भदौ २३ को घटनालाई नजरअन्दाज गरी शहीदको सपनामा होली खेल्नु र फेरि अर्को दुर्घटनाको तयारी गर्नु नै हो।जेनजी पुस्ताले संसद पुन:स्थापनालाई स्विकार गर्न नसकेर देश अर्को मुठभेडतिर जान सक्छ।
अर्को, सर्वपक्षीय सरकार बनाउनु भनेको पनि अनावश्यक रुपमा देशलाई थप अस्थिरतातिर धकेल्नु हो । त्यसकारण अहिलेको उपयुक्त विकल्प भनेको फागुन २१ को निर्वाचनबाट ताजा जनादेश प्राप्त गर्नु नै हो । फागुन २१ को निर्वाचनमा सहभागी हुँदा धेरै कुराको निकास हुन्छ।खासगरी आम मतदाताले निकै सचेततापूर्वक र संयमित भएर मतदान गर्नु पर्ने देखिन्छ।जेनजीले नयाँ पुस्ता नै खोजेका हुन् भने त्यो अवसर यो निर्वाचनबाट नै सम्भव हुन्छ। निर्वाचनबाट आएका नयाँ प्रतिनिधिले संविधान संशोधन गर्न पनि सक्छन् । निर्वाचनले देशलाई एउटा लयमा त फर्काउँछ।
नयाँ वा वैकल्पिक दल भनिनेहरू पनि उही पुरानोकै सिको गरेर खुद्रे पार्टी पसल खोल्दै हिड्ने होइन।कुनै खास व्यक्तिको पुजारी बनेर हुर्र हुर्र गर्दै हिड्नु हुँदैन।नेपाली जनताहरू पुराना दलबाट वाक्कदिक्क भएको बेलामा सबै वैकल्पिक भनिने मिलेर एउटा एजेन्डा भित्र रहेर विकल्प हुनुको अर्थ स्पष्ट पारी जनतालाई विश्वासमा ल्याउनुपर्छ । व्यक्तिपिच्छे पार्टी खोलेर,टुत्राटुत्रा भएर,म नै वैकल्पिक हुँ भनेर नयाँ वा वैकल्पिक हुन सकिँदैन।देश र जनतालाई केन्द्रमा राखेर राजनीतिलाई व्यवसाय नबनाई नितान्त सामाजिक सेवाको दृष्टिकोणले हेरेर सबै संगठित हुनुपर्छ ।
कुनै खास व्यक्ति सांसद,मन्त्री वा प्रधानमन्त्री बन्नकै लागि त किन वैकल्पिक भनिनु पर्यो र ? पुराना भन्नेहरूलाई साँच्चै धक्का नै दिने हो भने र देशलाई त्रिदलीय क्याप्चरबाट मुक्त गर्ने नै हो भने रवि,बालेन,कुलमान,हर्कहरूले आफ्ना खुद्रे कुरा र पसल छोडेर एकै ठाउँमा आउनुपर्छ।हुलका पछाडि लागेर वा कुनै व्यक्तिलाई देवत्वकरण गरेर कुनै पार्टी जीवन्त र स्थायित्व हुन सक्दैन अनि संगठन बलियो हुन सक्दैन र जनताको विश्वास पनि जित्न सकिँदैन।
यो चुनावी सरकारले पनि निकै ध्यान पुर्याउनु पर्छ।राज्यको अभिभावक भएपछि कसैलाई काखा र पाखा गर्नु हुँदैन।नयाँ र पुराना सबै दललाई चुनावी प्रक्रियामा सहभागी हुन प्रेरित गर्नुपर्छ। चुनावको वातावरण बनेकै छैन भने समस्या के के हुन दलहरूसित छलफल गर्नुपर्छ।यस्तो तरल अवस्थामा एकातिरबाट सकिन्छ भन्ने अर्कोतिरबाट सक्दैनौ भन्ने अविश्वासको वातावरणलाई अन्त्य गर्नुपर्छ।
देशमा राजनीतिक तरलता भएको अवस्थामा कतै धमिलो पानीमा माछा मार्न स्वदेशी वा विदेशी शक्ति दाउ हेरिरहेका छैनन् भनेर ढुक्क भन्न सकिन्न।वास्तवमा अहिलेको यो जटिल परिस्थिति सिर्जना गर्ने मुख्य दल भनेका कांग्रेस र एमाले नै हुन् र निकास पनि चुनावमा सहभागी भएर यिनैले दिनुपर्छ ।
यी दुई दललाई निर्वाचनबाट भागेर जोगिन्छु वा दोष अरुमाथि थोपारेर अलग्गिन्छु भनेर भाग्ने वा उम्कने मौका नै छैन । यी दुवै दलले जतिसक्दो चाँडो निर्वाचनमा सहभागी भएर परिणामलाई स्वीकार गरी देशलाई राजनीतिक निकास दिनुपर्छ र हुनसक्ने सम्भावित दुर्घटनाबाट देशलाई बचाउनु पर्छ । देश रहे पार्टी रहन्छ अनि पार्टी रहे नेता बन्न सकिन्छ। (लेखक पन्थी अमेरिकाको भर्जिनियामा कर्मरत छन्)