एमाले अध्यक्ष ओली र सरकारका प्रवक्ता खरेलबीच चुनावी भेटवार्ता
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ११ शुक्रबार
767
Shares
काठमाडौँ । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेकपा (एमाले) का अध्यक्ष तथा निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।
शुक्रबार बिहान भक्तपुरको गुण्डुस्थित ओलीको निजी निवासमा पुगेर मन्त्री खरेलले छुट्टै भेट गरेका हुन् । सञ्चारमन्त्रीको सचिवालयकाअनुसार यो भेट निर्धारित कार्यक्रमअनुसार भएको हो ।
यसअघि खरेलले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई महाराजगञ्जस्थित निवासमा भेटेका थिए । शुक्रबार नै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई खुमलटारमा भेट्ने तालिका छ ।
भेटमा आगामी निर्वाचनको तयारी, निर्वाचनको वातावरण निर्माण र राजनीतिक सहमतिको विषयमा छलफल भएको बताइएको छ ।
सरकारले प्रमुख तीन दलका शीर्ष नेतासँग छुट्टाछुट्टै भेटघाट गरी निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउने प्रतिवद्धता जनाउने प्रयास गरेको छ ।
हाल ओलीमाथि जेन-जी आन्दोलनको छानबिन आयोगले लगाएको काठमाडौँ उपत्यका बाहिर यात्रा प्रतिवन्धको विषय पनि छलफलमा उठेको छ ।
यसअघि सरकारको टोलीले एमालेको च्यासलस्थित केन्द्रीय कार्यालय निरीक्षण गर्दा पनि निर्वाचनमा सहभागिता र प्रतिबन्धमा लचकता अपनाउने बिषयमा सकारात्मक संकेत दिएको थियो ।
एमालेले निर्वाचनमा सहभागी हुने वातावरण बनेमा भाग लिने प्रतिवद्धता जनाएको छ ।
सरकारले यो भेटघाटलाई राष्ट्रिय सहमतिको प्रयासको रूपमा लिएको जनाएको छ ।
यो भेटले तत्कालीन राजनीतिक तनाव कम गर्ने र निर्वाचन प्रक्रियालाई अघि बढाउने अपेक्षा गरिएको छ ।